काठमाडौं– भारत भ्रमणबारे सुझाव लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको पूर्व प्रधानमन्त्रीहरुको बैठकमा केपी ओली र झलनाथ खनाल अनुपस्थित भएका छन् । पूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टराई, माधवकुमार नेपाल, लोकेन्द्र बहादुर चन्द र शेरबहादुर देउवा बैठकमा उपस्थित रहेपनि ओली र खनाल भने अनुपस्थित भएका हुन् ।
पूर्वप्रधानमन्त्री ओली एमालेका अध्यक्ष समेत हुन् भने खनाल एमालेकै वरिष्ठ नेता समेत हुन् । एउटै पार्टीका तीन जना पूर्व प्रधानमन्त्री भएकाले पार्टीको समेत प्रतिनिधित्व हुने गरी नेपाललाई मात्रै बैठकमा पठाइएको बताइएको छ । बैठकपछि पूर्व प्रधानमन्त्री नेपालले भारत भ्रमणका क्रममा राष्ट्रिय हितलाई ध्यानमा राखेर सन्धी सम्झौता गर्न प्रधानमन्त्रीलाई आफूले सुझाव दिएको सञ्चारकर्मीहरुलाई बताए ।
यस्तै उनले यसअघि नै आफ्नो पार्टीले बुझाएको ज्ञापनपत्र अनुसार जान पनि सुझाएको बताए । भट्टराईले भने विभिन्न १० बुँदे सुझाव दिएका थिए । बैठकमा देउवा र चन्दले पनि जनताले विरोध नगर्ने खालको सन्धी सम्झौता नगर्न प्रधानमन्त्रीलाई सुझाएका थिए ।






