काठमाडौं – सविधान संशोधनको मस्यौदा तयार गर्नका लागि संघीय गठबन्धनले गठन गरेको कार्यदल बेवारिस बनेको छ ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठन भएको ११ सदस्यीय कार्यदल गठन भएको आठ दिन भइसक्यो तर हालसम्म एउटा बैठक पनि बसेको छैन, कारण गठबन्धनभित्रको विवाद ।
कार्यदल बनाउन आफूहरुसँग सोध्दै नसोधी कार्यदल गठन गरेको भन्दै सद्भावना पार्टीले असन्तुष्टि जनाएपछि कार्यदल क्रियाशिल हुन सकेको छैन । कार्यदलका संयोजकले नै आफूलाई नसोधी कार्यदलमा राखेको बताउँछन् ।
कार्यदलप्रति तराई मधेश लोकतान्त्रिक पार्टीले पनि असन्तुष्टि जनाएको छ । तमलोपाका तर्फबाट कार्यदलमा सदस्य रहेका वृषेशचन्द्र लालले अहिलेको अवस्थामा कार्यदलको कुनै औचित्य नरहेको टिप्पणी गरेको छ ।
कार्यदल गठन हुने दिन सद्भावना पार्टी, तमलोपा, नेपाल सद्भावना पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिक अनुपस्थित थिए ।
भदौ १९ गते गठन भएको कार्यदलको बैठक २१ गते बोलाइएको थियो तर कार्यदलका संयोजक कर्ण काठमाडौंभन्दा बाहिर भएका कारणले बैठक बस्न सकेन ।
त्यसपछि पनि पटक–पटक बैठक बस्ने तय गरिए पनि कोही कुन बहाना त कोही कुन बहाना बनाएर बैठकमा नेताहरु आउँदैनन् । त्यही कारण बैठक बस्न नसकेको कार्यदलका सदस्य एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले बताए ।
‘बैठकप्रति कसैले चासो नै देखाउनु भएको छैन भने म एक्लै के गर्नु, सविधान संशोधन प्रस्तावका बारेमा छलफल गर्नका लागि नै कार्यदल बनेको हो । तर, बैठक नै बस्दैन भने के को छलफल हुन्छ’ उनले भने, ‘कार्यदलमा रहेका सबै साथीहरुको फुर्सद भएपछि मात्र बस्नेछ ।’ उनले आफ्नो पार्टी र महेन्द्र राय यादव अध्यक्ष रहेको तराई मधेश सद्भावना पार्टीबाहेक अरु कुनै दलले चासो नराखेको दाबी गरे ।
तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले कार्यदलमा रहेका सदस्यहरुको फुर्सद नभएका कारणले बैठक बस्न नसकेको प्रतिकृया दिए ।
कार्यदलको संयोजकमा कर्णसहित फोरम नेपालका लालबाबु राउत, तमसपाका रामनरेश राय यादव, रामसपाका केशव झा, तमलोपाका वृषेशचन्द्र लाल, गोपाल दहित, कुमार लिग्देन, प्रेमबहादुर खाती तथा शिल्पी समुदाय, प्रादेशिक मोर्चा र आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिको तर्फबाट एक एक जना रहेका छन् ।






