नेपालगन्ज– जनआन्दोलन ०६२/६३ मा हटाइएको पूर्व राजा वीरेन्द्रको शालिक अचानक राष्ट्रवादी युवा शक्तिले बिहीबार नेपालगन्जको धम्बोजी चोकमा स्थापना गरेपछि तनाव भएको छ। राष्ट्रवादी युवा शक्ति नामक संस्थाले बिहीबार एक दशकपछि पूर्व राजाको शालिक अनावरण गरेपछि धम्बोजी चोकमा तनाव भएको छ।
राष्ट्रवादी युवा शक्तिले सुरुमा पूर्व राजाको शालिक रहेको स्थानमा राष्ट्रिय झण्डा फहराउने प्रहरीलाई जानकारी गराएका थिए। जसलाई प्रहरीले स्वीकृत दिएको थियो। पछि युवा शक्तिले अचानक पूर्वराजाको शालिक नै अनावरण गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। अहिले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
राजाको शालिक अनावरण गरेपछि अर्को पक्षले अबरोध गर्नसक्ने भन्दै सुरक्षाकर्मी परिचालन गरेको प्रहरीले जनाएको छ। युवा शक्तिले शालिक अनावरण गरेपछि प्रहरीले उनीहरुलाई बलपूर्वक हटाएको थियो। ठूलो संख्यामा रहेका युवाहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नाराबाजीसमेत गरेका छन्।






