तिलोत्तमा(रुपन्देही)- वाणिज्यमन्त्री रोमीगौचन थकालीले नेपालको बजारलाई छिमेकी मुलुकमा थप विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आज ६३ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दे उहाँले नेपाली बजारलाई भारत र चीनमा विस्तार गर्न सकिने ठूलो सम्भावना रहेकाले सोहीअनुरुप सवैले काम गर्नुपर्ने बताउनुभयो ।
मन्त्री थकालीले राज्यले उद्योग, व्यापार नचलाउने बताउँदै राज्यले नीति नियम बनाउने र मुलुकमा उद्योगमैत्री वातावरण सिर्जना गर्ने भएकाले हाइड्रो र कृषि क्षेत्रमा खुलेर लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।
अर्थतन्त्रलाई बलियो बनाउन उद्योग क्षेत्रमा महिला उद्यमीहरूलाई अगाडि बढाउनुपर्ने उल्लेखगर्दै उहाँले अर्थतन्त्र महिलाको हातमा गए कम भ्रष्टचार हुने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले देशको आर्थिक विकासका लागि निजी क्षेत्रलाई बलियो बनाउनुपर्ने विचार व्यक्तगर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालले नीजि क्षेत्रलाई प्रोत्सान हुने गरी सरकारले नीति, नियम र कार्यक्रम ल्याउनुपर्ने बताउँदै सङ्कटको अवस्थामा पनि निजी क्षेत्रले देशको अर्थतन्त्रलाई धानेको हुँदा नीजि क्षेत्रका समस्यालाई पहिचान गरी त्यसलाई सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका एसोसिएट उपाध्यक्ष शेखर गोल्छा, अर्का उपाध्यक्ष दिनेश श्रेष्ठ, बुटवल उद्योग वाणिज्य सङ्घका पुर्व अध्यक्ष नवराज श्रेष्ठ, नवलपरासी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भरत थापालगायतले बोल्नुभएको थियो ।






