लन्डन– वेम्ली पार्कमा आयोजित १४ औं लन्डन मेलामा नेपालको पर्यटन प्रबर्द्धनको पहल भएको छ ।
लन्डनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको सहकार्यमा स्टल राखेर मेलाका आगन्तुकलाई पर्यटन प्रबर्द्धनात्मक सामाग्री बाँडिएको हो । दूतावासका थर्ड सेक्रेटरी भूपेन्द्रप्रसाद घिमिरे, अट्याची तेजेन्द्र रेग्मी, दूतावास कर्मचारी र नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारी एवं एभरेष्ट इन ग्रुपका निर्देशक यादव भण्डारीले लिफलेट, ब्रोसर, पत्रिका र अन्य सामाग्री बाँडेका छन् ।
बोर्ड प्रतिनिधि भण्डारीले नेपालबाट थप सामाग्री नहुँदा प्रभावकारी प्रचार गर्न नसकिएको बताएका छन् । पूर्वप्रतिनिधि ध्रुव केसीले आफ्नै खर्च र समय दिएर नेपालको पर्यटन प्रबद्र्धनको काम गरिरहेको जानकारी दिए ।
अट्याची रेग्मीले वेम्ली जस्तो केन्द्रमा हजारौं आगन्तुकबीच नेपालको पर्यटन प्रबर्द्धन गरिएको बताए । कार्यवहाक राजदूत शरदराज आरन नेपाल आयरल्याण्ड डेका लागि आयरल्याण्ड गएकाले उपस्थित थिएनन् ।
मेलामा सहभागी एनआरएनए युरोप संयोजक कुल आचार्य, व्यवसायीहरु वीपी खनाल र विराज भट्ट एवं लन्डन मेलाका ट्रष्टी प्रशान्त कुँवरले नेपाली कला संस्कृति झल्काउन मेला सहयोगी भएको बताए ।
नेपाली गीतसंगीतको चिनारी दिने उद्देश्यले मेलामा आर के स्क्वायर ब्याण्डले नेपाली गीत संगीत प्रस्तुत गरेको थियो भने लाखे नाच र अन्य सांस्कृतिक नाच समेत प्रस्तुत गरिए ।
ओमप्रसाद थापाको नेतृत्वमा प्रथम नौमति बाजा गुल्मी यूकेले नौमति बाजाको धुन प्रस्तुत गर्यो जुन प्रमुख आकर्षण थियो ।






