नर्सिङ एसोसिएसन अधिवेशनमा होमियो, सेप्टेम्बर १७ मा नयाँ नेतृत्व आउने

narsingलन्डन– नेपलिज नर्सिङ एसोसिएसन यूके चुनावी अभियानमा होमिएको छ । सेप्टेम्बर १७ तारिख शनिबार हुने अधिवेशनले आउँदो २ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने भएको हो ।

ब्लयाकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा बिहान १० बजे अधिवेशन सुरु हुने कार्यक्रम छ । अधिवेशनमा संस्थाका वार्षिक तथा आर्थिक प्रतिवेदनका साथै विधान संशोधनको प्रस्तावमा पनि छलफल गरिनेछ ।

एसोसिएसनको नयाँ नेतृत्व चयन गर्नका लागि टुका स्याण्डवेल संयोजक रहेको एक निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिमा एसोसिएसनका पूर्वअध्यक्षद्वय अजिता सिंखडा र वासु लामिछाने सदस्य छन् ।

नयाँ नेतृत्वका लागि इच्छुकले आफ्नो इच्छापत्र इमेल गरेर पठाउनुपर्ने निर्वाचन समितिले जनाएको छ । कुनै पनि पदमा दुईभन्दा बढीले इच्छा देखाए अधिवेशनले निर्वाचनमार्फत टुंगो लगाउनेछ ।

भावी अध्यक्षको लागि अहिलेकी उपाध्यक्ष प्रसुना कँडेलको नै सम्भावना बढी छ । त्यस्तै वर्तमान महासचिव विनोदविकास सिंखडा र कोषाध्यक्ष रस्मिता दर्लामी क्रमश उपाध्यक्ष र महासचिवमा दाबी गर्ने बुझिएको छ ।

सन् २००८ मा स्थापित एसोसिएसनमा अहिले बेलायतमा कार्यररत ३ सय बढी नर्सहरु सक्रिय रुपमै आबद्ध छन् ।