काठमाडौं– कानुन अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुले आफू पदमा नियुक्त भएको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तर, पुष्पकमल दाहालले प्रधानमन्त्री चयन भएको ३० दिनसम्म पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।
प्रधानमन्त्री तथा मन्त्रीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाएको सम्पत्ति विवरण सोही कार्यालयको बेबसाइटमार्फत सार्वजनिक गर्ने चलन छ । तर, प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, प्रधानमन्त्री दाहालले एक महिनासम्म पनि विवरण बुझाएका छैनन् । दाहाल साउन १९ गते प्रधानमन्त्री निर्वाचित भएका हुन् ।
प्रधानमन्त्री दाहालले जस्तै उनीसँगै सपथ लिएका उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधी र कृष्णबहादुर महराले पनि सम्पत्ति विवरण बुझाएका छैनन । त्यसैगरी, सोही दिन नियुक्त भएका मन्त्रीहरु रमेश लेखक, गणेश श्रीपाली र गौरिशंकर चौधरीले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।






