लण्डन । चर्चित हास्य कलाकार दीपकराज गिरी र दिपाश्री निरौलाले बनाएको नयां चलचित्र छक्का पञ्जा बेलायतका दर्शकहरुले पनि हेर्न पाउने भएका छन ।
बेलायतमा विभिन्न नेपाली सांगीतिक इभेन्ट्स तथा चलचित्रहरुको प्रदर्शन गराउंदै आएको नेपालिज इन्टरटेनमेन्ट यूकेले छक्का पञ्जालाई बेलायत ल्याउने भएको हो ।
विरेन खड्का, राजेन गुरुंग, दीपक खड्का र अनिल मल्ल सम्मिलत यो समुहले छक्का पञ्जालाई बेलायतका विभिन्न क्षेत्रमा बस्ने नेपालीहरुमाझ प्रदर्शन गराउनेछ ।
सेप्टेम्बर ९ तारिखमा नेपालमा रिलिज हुने यस चलचित्रको बेलायतमा पहिलो शो सेप्टेम्बर १७ तारिखमा अल्डरसटमा हुंदैछ ।
स्थानीय प्रिन्सेस हलमा सांझ ६ बजे सुरु हुने चलचित्रको शो हेर्न अग्रिम टिकट लिनेलाई १० पाउण्ड तथा शोको दिन ढोकामै लिनेलाई १५ पाउण्ड लाग्नेछ ।
आयोजक समुहका एक सदस्य विरेन खड्काका अनुसार सेप्टेमबर २५ तारिखमा छक्का पञ्जा स्वीण्डनमा प्रदर्शन हुने पक्का भइसकेको छ । त्यसपछि बेलायतका अन्य ठाउंहरुमा पनि चलचित्र देखाइने उनले जानकारी दिए ।
कलाकारद्धय दीपक र दीपाको निर्माणमा बनेको छक्का पञ्जा तेस्रो चलचित्र हो । यसअघि उनीहरुले ‘छ एकान छ’ र ‘वडा नम्बर ६’ बनाएका थिए ।
दीपाश्रीको निर्देशनमा बनेको छक्का पञ्जामा दीपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे ‘माग्ने बुढो’, जितु नेपाल ‘मुन्द्रे’, शिवहरि पौडेल, बुद्धि तामांग ‘हैट’ लगायतले अभिनय गरेका छन् ।
चलचित्रमा वैदेशिक रोजगार, बेरोजगारी लगायतको समसामयिक विषयवस्तु छ ।






