काठमाडौं– नेपाली कांग्रेसमा वर्तमान सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली पठाउने सम्बन्धमा देखिएको विवाद मिलेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मन्त्रालय बाँडफाँडमा सम्मानजनक अवस्था नभए सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको भोलिपल्ट विवाद मिलेको छ ।
नेता पौडेल समूहको मागअनुसार बिहान भएको छलफलपछि सभापति शेरबहादुर देउवा समूह पाँच मन्त्रालय पौडेल समूहलाई दिने सहमत भएको हो । यसअघि नेता पौडेल समूहले पाँच मन्त्रालयको माग गर्दै नपाए सरकारमा सहभागी नहुने जनाएको थियो ।
वर्तमान सरकारमा नेकपा (माओवादी केन्द्र)ले आठ र काँग्रेसले १३ मन्त्रालय पाउने सहमति भएको थियो । कांग्रेसबाट यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा निधि र भौतिक योजना तथा यातायात व्यवस्थामन्त्रीका रुपमा रमेश लेखकले शपथ लिइसकेका छन् ।
पौडेल समूहले पाँच मन्त्रीको नाम पनि तय गरेको छ । तर, उनीहरुले पाउने मन्त्रालय टुंगिन बाँकी छ । पौडेल निकट नेताहरुका अनुसार विहीबार साँझसम्म मन्त्रीहरुको नाम पार्टी सभापति देउवालाई बुझाइनेछ । नेताहरुका अनुसार पौडेल समूहबाट सीतादेवी यादव, नविन्द्रराज जोशी, दिपक गिरी, रोमी गौचन थकाली र हृदयराम थानी मन्त्री बन्ने भएका छन् ।
कृष्ण सिटौला र गगन थापा समूहले पनि एउटा मन्त्रालय पाउने भएको छ । यो समूहबाट गगन थापा र भीमसेनदास प्रधानमध्ये एकजना मन्त्री बन्नेछन् ।
पौडेल समूहलाई पाँच र सिटौला समूहलाई एक मन्त्रालय दिएपछि देउवा समूहले पाउने मन्त्रालयको संख्या ८ पुगेको छ । यीमध्ये विमलेन्द्र निधि र रमेश लेखक पहिल्यै मन्त्री भइसकेका छन् । अब देउवा पक्षबाट ६ जना नयाँ मन्त्रीले सपथ खानेछन् ।
देउवा निकट स्रोतका अनुसार अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँड, जीवनबहादुर शाही देउवा समूहबाट मन्त्री बन्ने पक्का भएको छ । केसीले शहरी विकास, प्रकाशशरणले परराष्ट्र र बालकृष्णले रक्षा मन्त्रालयको जिम्मेवारी पाउने लगभग पक्का जस्तै छ भने जीवनवहादुर पर्यटन मन्त्री बन्ने चर्चा छ ।






