काठमाडौं- सत्ता साझेदार नेपाली कांग्रेसले सरकारमा पार्टीको तर्फबाट सहभागी हुने ११ जनाको नाम टुंगो लगाएको छ।
सभापति देउवा बिहीबार देशबाहिर जानुअघि बुधबार प्रचण्ड नेतृत्वको सरकार बिस्तार हुने निश्चित भएको हो। सभापति देउवाले सरकारमा जानेहरुको नाम दिन नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्कासँग सल्लाह गरिसकेका छन्। तीनै नेताले देउवालाई नाम पठाइसकेका छन्।
देउवाले अब चार मन्त्रीमा अर्जुननरसिंह केसी, केशवकुमार बुढाथोकी र जीवनबहादुर शाहीलाई पठाउने लगभग निश्चित भएको छ। बाँकी एक जनामा ज्ञानेन्द्रवहादुर कार्की, बालकृष्ण खाँड र डा. प्रकाशशरण महतमध्येबाट छान्ने छन्।
नेता पौडेलले आफ्नो समूहलाई ६ वटा मन्त्रालय दिनु पर्ने माग गरेपनि सभापति देउवाले चार वटा मन्त्रालय मात्र दिने भएका छन्। स्रोतका अनुसार पौडेलले आफ्नो समूहको तर्फबाट कोषाध्यक्ष सीतादेवी यादव, डा. शेखर कोइराला, नवीन्द्रराज जोशी र दीपक गिरीलाई पठाउने भएका छन्।
ता नेता कृष्णप्रसाद सिटौलाले भने मन्त्रीमा गगन थापा र सुधीरकुमार शिवाकोटीलाई पठाउने निश्चित भएको छ।
नेता खड्काले भने केन्द्रीय सदस्य एवं सांसद मोहनबहादुर बस्नेतलाई पठाउने भएका छन्।






