काठमाडौँ, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले जनउत्तरदायी शासन र सार्वजनिक सेवालाई वर्तमान सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “राज्यका संरचनाबाट प्राप्त हुने सेवाप्रति जनतामा सर्वत्र नकारात्मकता बढ्दै गएको छ, यस्तो अवस्थालाई चिर्न शासन र सार्वजनिक सेवालाई जनउत्तरदायी बनाउन सबैको ध्यान जान जरुरी छ ।”
राष्ट्रिय सतर्कता केन्द्रको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भन्नुभयो – “सार्वजनिक सेवा जति जनउत्तरदायी हुन्छन्, त्यति नै सुशासन कायम हुन्छ । जनताले पनि राज्यका संरचनाप्रति अपनत्व महसुस गर्दछन् ।”
सार्वजनिक निकायमा हुने भ्रष्टाचारजन्य क्रियाकलापलाई प्रभावकारी रुपमा नियन्त्रण एवम् भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै सुशासन कायम गर्ने ध्येयले विसं २०५९ मा आजकै दिन केन्द्रको स्थापना गरिएको थियो । प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहने सरकारी निकायमध्ये यो पनि एक हो ।
प्रम दाहालले सार्वजनिक निकायले आफूले निर्धारण गरेका काम समयसीमाभित्र पूरा मात्र गरिदिएमा पनि सुशासन आफैँ कामय हुने बताउनुभयो ।
उहाँले भन्नुभयो – “सडकमा जाऔँ, जाम नै जाम छ, बजारमा किनमेल गर्न निस्किँदा कालोबजारी पाउँछौँ, सार्वजनिक निकाय (सरकारी कार्यालय)मा काम लिएर जाऔँ, समयमा काम हुँदैन, जनता यस्तै यस्तै गुनासा गर्दछन्, यस्ता गुनासा जायज छन्, यस्ता गुनासालाई सम्बोधन गर्न सकिएन भने लोकतन्त्रप्रति नै वितृष्णा बढ्छ, लोकतन्त्रप्रति वितृष्णा आउन दिनु हुँदैन ।”
आफूले प्रमको कार्यभार सम्हालेपछि सरकारका विशिष्ट अधिकृतलाई राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै संविधानको कार्यान्वयन गर्न, स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराउन, शान्तिप्रक्रियाका बाँकी कार्यभार पूरा गर्न, भूकम्पपीडित जनतालगायत अन्यलाई प्रत्यक्ष अनुभूत हुने खालको राहत कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।
“म जोखिम मोलेर नै प्रधानमन्त्री भएको हुँ, ती कार्य पूरा गर्न इमान्दारितापूर्वक लाग्नेछु र मेरो सम्पूर्ण शक्ति यसैमा खर्च गर्नेछु ।” उहाँले भन्नुभयो ।







