बेलायतमा कार्यरत नेपाली पत्रकारहरुको लागि नेपाल पत्रकार महासंघ यूके शाखाको आयोजनामा एक दिने पत्रकारिता तालिम सम्पन्न भएको छ ।
शनिबार लन्डनमा भएको उक्त तालिममा बेलायतको रोवर्ट गोर्डन युनिभर्सिटीबाट पत्रकारितामा विद्यावारिधि गरेका डा. नरेशचन्द्र राईले तयार गरेको इन्भेष्टिगेटिभ जर्नलिज्मसम्बन्धी सामग्री बीबीसी नेपाली सेवाका भगिरथ योगीले प्रस्तुत गरेका थिए भने क्यानाडाको ओटावा युनिभर्सिटीबाट जर्नालिज्म इथिक्समा विद्यावारिधि गरिरहेका भानुभक्त आचार्यले जर्नलिज्म इथिक्सका बारेमा तालिम दिएका थिए ।
तालिममा यूके र नेपालका विभिन्न मिडियामा काम गरिरहेका ३३ पत्रकारहरुको उपस्थिति थियो ।
तालिम उद्घाटन कार्यक्रममा शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरले बेलायतमा नेपाली पत्रकारहरुको सीप र क्षमता विकास गरी समुदायको अपेक्षा पूरा गर्न तालिम आयोजना गरिएको बताए ।
महासचिव लीलामान शेरपुन्जाले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष ध्रुवराज अर्यालले स्वागत गरेका थिए ।
कार्यक्रममा बेलायतबाट नेपाल फर्कन लागेको शाखाका पूर्व कोषाध्यक्ष देवी गौतमलाई अध्यक्ष खपाङ्गीमगरले खादा ओढाइ बिदाइ गरेका थिए ।







