खेलकुदले नेपाली झन्डा अन्तर्राष्ट्रियजगतमा फहराएको छ : राष्ट्रपति भण्डारी

bidhyaकाठमाडौँ, ११ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समयमा खेलकुदको माध्यमबाट नेपाली राष्ट्रिय झन्डा अन्तर्राष्ट्रिय जगत्मा फहराउन सकेको बताउनुभएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आज ओलम्पिक खेल्न ब्राजिल जान लागेका खेलाडीलाई सफलताको शुभकामना दिँदै उहाँले भन्नुभयो, “यसपटक पनि सबै खेलका उत्कृष्ट खेलाडीले भाग लिँदै हुनुहुन्छ, मनमा तनाव नलिई आफ्नो कला र सीप प्रयोग गरेर देशको नाम राख्नुहोस्, फर्केर आउँदा स्वागत मात्र होइन, बधाई पनि दिन पाऊँ ।”

राष्ट्रपति भण्डारीले खेलाडीलाई उपाधिकै लागि प्रतिस्पर्धा गर्न आग्रह गर्दै भन्नुभयो, “खेलकुद हाम्रोजस्तो सानो देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा सजिलै चिनाउन सक्ने एउटा माध्यम हो ।”

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यसपटक खेलाडीको सुविधा, अभ्यास र सुविधामा कुनै कमी हुन नदिएकाले राम्रो नतिजा आउने विश्वास व्यक्त गर्नुभयो ।