काठमाडौं- अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की व्यवस्थापिका संसद अन्तर्गतको सुशासन समितिमा गएनन् ।
बिहान ८ बजे उनी सुशासन समितिमा बयान दिन जानु पर्नेमा पौने ९ बजेतिर आएका अख्तियारका सचिव शान्तराज सुवेदीले बिरामी भएकाले आउन नमिल्ने जनाउ दिएका थिए । लोकमानले आफू बिरामी भएको बताए पनि अन्य पदाधिकारीलाई किन पठाएनन् भन्ने अनुत्तरित छ ।
उनको घाँटीमा समस्या भएका कारण एक हप्ता बोल्न नमिल्ने जनाउ सुवेदीले दिएका हुन् । लोकमान बैठकमा नआएपछि उनीबिनै बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा सुवेदीसँगै, वेगेन्द्रराज शर्मा र प्रवक्ता कृष्णहरि पुष्कर तथा सुशासन समितिका सांसदहरु सहभागी छन् ।
आठौं पटक चिकित्सा क्षेत्रको विकृति विरुद्ध आमरण अनसन बसेका प्रा. डा. गोविन्द केसीले चिकित्सा क्षेत्रमा हस्तक्षेप गरेको भनी महाअभियोग लगाउन माग गरेपछि त्यसको वास्तविकता बुझ्न कार्कीलाई सुशासन समितिले बोलाएको हो ।






