संकेत र बजगाईंलाई अनेसास यूकेले सुप्रमा पुरस्कार प्रदान गर्ने

ukलन्डन- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, (अनेसास) यूकेले कवि केदार संकेत तथा कथाकार कृष्ण बजगाईंलाई सुप्रमा पुरस्कारद्वारा पुरस्कृत गरेको छ । कवि संकेतलाई उनको खण्डकाव्य ‘अफिम फुल्ने देशमा’ र कथाकार बजगाईलाई उनको कथा संग्रह ‘कामरेड भाउजू’ को लागि पुरस्कृत गरिएको हो ।

कवि संकेत सुप्रमा पुरस्कार – २०१५ ले पुरस्कृत भएका हुन् भने कथाकार बजगाईं सुप्रमा पुरस्कार – २०१६ ले पुरस्कृत भएका हुन् । साहित्यकार ईश्वर मानन्धरबाट आफ्ना स्व. बुवा सुन्दरप्रसाद मानन्धरको स्मृतिमा सन् २०१२ मा स्थापना गरिएको उक्त सुप्रमा पुरस्कार बेलायती नेपाली डायस्पोराबाट शृजना गरिएका कुनै पनि विधाका उत्कृष्ट कृतिलाई वार्षिक रुपमा पुरस्कृत गर्ने उद्देश्य रहेको छ ।

साहित्यकार मानन्धरको सन् २०१२ को फेब्रुअरीमा निधन भएपछि धर्मपत्नी जानकी तथा परिवारद्वारा निरन्तरता दिइएको पुरस्कारको राशि २५१ पाउण्ड रहेको छ । सन् २०१४ मा पहिलो पटक उक्त पुरस्कार कविता कृति ‘अनुभूतिका रंगहरु’ का लागि कवि मुकेश राईलाई प्रदान गरिएको थियो भने २०१५ को पुरस्कार मानन्धर परिवारमा अर्को शोक परेकोले स्थगित गरि सन् २०१५ तथा २०१६ को पुरस्कार यस पटक सँगै प्रदान गरिएको छ ।

दुवै श्रष्टाहरुलाई २४ जुलाई आइतबार, भानु जयन्ती समारोहमा प्रदान गरिनेछ ।