पूर्वमन्त्री मानन्धरको निधन

manandhar death
काठमाडौँ- पूर्वमन्त्री एवं संघीय समाजवादी फोरमका नेता मंगलसिद्धी मानन्धरको निधन भएको छ । राजधानीको थापाथलीस्थित नर्भिक हस्पिटलमा उपचारको क्रममा मानन्धरको ७५ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

उनी लामो समयदेखि प्रोष्टेट क्यान्सरबाट ग्रसित थिए । भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा प्रोष्टेट क्यान्सरको उपचार गरी पुनः नर्भिकमा भर्ना भएका मानन्धरको बिहान ११ बजेर ४५ मिनेटमा हृदयघातका कारण मृत्यु भएको हो ।

मानन्धर पहिलो संविधानसभा निर्वाचनपछि एमाले छाडेर संघीय समाजवादीमा प्रवेश गरेका थिए । २०५६ सालमा एमालेबाट प्रत्यक्ष निर्वाचित सांसद बनेका मानन्धर पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद थिए ।

एमालेमा रहँदा मानन्धर २०६२–२०६३ को राजनीतिक परिवर्तनपछि शिक्षा तथा खेलकुद मन्त्री बनेका थिए । मानन्धर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र त्रिभुवन विश्वविद्यालयको भूगोल विभागका प्रमुख समेत भएका थिए ।

उनले अमेरिकाको ओक्लाहोमा विश्वविद्यालयबाट सन् १९७३ मा भूगोल विषयमा विद्यावारिधि गरेका थिए । मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि त्रिचन्द्र कलेजमा राखिने र शनिबार मात्र अन्तिम संस्कार गरिने परिवारले बताएको छ ।