काठमाडौं -एमालेका केन्द्रीय उपाध्यक्षहरूले नयाँ जिम्मेवारी माग गरेका छन् । स्थायी कमिटीले सातवटै प्रदेशमा प्रदेश संगठन कमिटी गठन गरेपछि ‘बेरोजगार’ बन्ने स्थिति आएको भन्दै चारै उपाध्यक्षले नयाँ जिम्मेवारी माग गरेका हुन् ।
तत्कालीन उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि एक उपाध्यक्षको पद भने रिक्त छ ।
नवौँ महाधिवेशनबाट पारित एमाले विधानमा पाँच उपाध्यक्षलाई पाँच विकास क्षेत्रको कामको अनुगमन र संयोजन गर्ने जिम्मेवारी दिइएको छ । तर, प्रदेश कमिटी गठनसँगै पुरानो ढाँचाको अञ्चल र विकास क्षेत्र स्वत: खारेज भएपछि उपाध्यक्षहरू भूमिकाविहीन भएका हुन् ।
एमालेले स्थायी समितिबाट करिब पाँच सय नेता–कार्यकर्ता रहने गरी अघिल्लो साता प्रदेश संगठन कमिटी गठन गरिसकेको छ । तर, संयोजकको टुंगो लगाएको छैन ।






