काठमाडौँ- दुई महिनाअघि सरकार ढाल्न चलखेल गरेका कांग्रेस र माओवादी पुनः सत्ता संघर्षमा उत्रने तयारी गरेका छन् ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्न प्रमुख प्रतिपक्ष कांग्रेस र सत्ता घटक नेकपा माओवादी केन्द्रका नेताहरूले अनौपचारिक छलफल तीव्र बनाएका छन् । एमालेले मागेको असार १५ सम्मको समयसीमा पूरा भएको भन्दै माओवादी नेताहरू नयाँ सरकार समीकरणको कसरतमा लागेका हुन् ।
स्रोतका अनुसार केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको भद्र सहमति कार्यान्वयन नहुने संकेत पाएपछि कांग्रेससँग मिलेर सरकार बनाउने गृहकार्य थालेका हुन् । दाहालले बजेट पारित भएपछि सरकारको विकल्प खोज्न आफू तयार रहेको कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा बताएका छन् ।
सत्तारूढ मुख्य घटक एमालेका नेताले वैशाख २३ गते दाहाल निवास लाजिम्पाटको भेटवार्तामा जेठ मसान्तसम्म पर्खन दाहाललाई आग्रह गरेको चर्चामा आएको थियो । फेरि एमालेसँग जेठ अन्तिममा छलफल गर्दा बजेट अनुमोदनलगायत कारणले असार १५ सम्म पर्खन आग्रह गरेको माओवादी नेताहरूको भनाइ छ ।
माओवादी नेता वर्षमा पुनले यसबीचमा कांग्रेससँग नयाँ सरकार समीकरणको सम्भावना र तयारीबारे अनौपचारिक तहमा निरन्तर कुराकानी भएको बताए ।






