काठमाडौं: त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसीले मेडिकल क्षेत्रमा हस्तक्षेप गरेको भन्दै महाअभियोग लगाउन माग गरेकोप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘कडा शब्दमा भर्त्सना’ गरेको छ ।
मेडिकल क्षेत्रमा हस्तक्षेप गरेको भन्दै डा. केसीले अख्तियारका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग तथा अन्य पदाधिकारीमाथि कारबाही माग गर्दै आमरण अनसन बस्ने चेतावनी दिएपछि अख्तियारले उनलाई मासनिक बिरामीको संज्ञा दिएको हो ।
‘भ्रष्टाचार, अनाचार र सबैखाले बिसंगतिविरुद्धको महाअभियानमा क्रियाशील आयोगका प्रमुख आयुक्त र आयुक्तहरु प्रति लक्ष्यित डा. केसीको माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो’, अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले आइतबारै निकालेको विज्ञप्तीमा भनिएको छ ।
अख्तियारले डा केसीबाट आफ्ना पदाधिकारीहरुमाथि लगाइएका आरोपलाई पनि पुष्टि गर्न चुनौती दिएको छ । उसले स्वास्थ्य क्षेत्रमा हस्क्षेप गरी राजीनामा दिन बाध्य पारिएको प्रमाण पेश गर्न पनि डा. केसीलाई भनेको छ ।
‘अख्तियारका कुनै पदाधिकारीद्वारा आफ्नो र आफन्तको निहित स्वार्थका लागि चिकित्साक्षेत्रमा भर्ना गरेको, स्वास्थ्य तथा चिकित्सा क्षेत्रको सुधारको प्रक्रिया अबरुद्द तुल्याएको आरोप सरासर झुट हो’, अख्तियारले भनेको छ, ‘भ्रष्टहरुलाई संरक्षण दिएको र कुनै पदाधिकारी बिशेषलाई सौदाबाजीमार्फत राजीनामा दिन बाध्य तुल्याएको भन्ने तुच्छ अभियोगको तथ्यगत परिपुष्टिका लागि डा. केसीलाई अख्तियार चुनौति दिन्छ ।’






