काठमाडौं- आदिवासी जनजाति र मधेसवादी दलको संघीय गठबन्धनबाट नेपाली जनता दललाई हटाइएको छ ।
‘मैले मधेसवादी दलको आन्दोलनलाई आफ्नैजस्तो गरेर साथ दिँदै आएको थिँए तर उसैले वेवास्ता गरेपछि अब म त्यहाँ रहिन’ संसदीय दलको कार्यालय सिंहदरवारमा जनता दलका अध्यक्षसमेत रहेका सांसद हरिचरण साहले भने, ‘ पछिलो समयमा मेरो भावनालाई नबुझिकन संघीय गठबन्धन अघि बढेको छ त्यसैले सधैं सहकार्य गर्न सकिएन ।’
संविधानमा हस्ताक्षर गरेका शाहले मधेस र मधेसीको भावनालाई सम्वोधन गर्न आफूले लिएको चासोलाई आन्दोलनकारीले नबुझेको गुनासो गरेका छन् । संविधान बनेपछि गृहजिल्ला सर्लाही पुगेका उनलाई मधे;वादी दलका कार्यकर्ताले कालोमोसो दलेर अपमान गरेका थिए । ‘यही कुरा अचम्म लाग्छ ,म नै मधेसको पक्षमा आवाज उठाउने अनि मलाई नै घर जान नदिने यो पारा गलत हो,’ साहले भने ‘ संविधानले मधेशी जनतालाई अधिकार नदिएको भन्दै मधेशवादीहरु आन्दोलन गर्दै आएका छन् तर उनीहरुले आफ्नो खास मुद्धा के हो त्योचाँहि जनतामा प्रष्ट पार्नुपर्छ ।’
संसदमा एक सिटमात्र रहेका साहले आफ्नो पार्टी क्षेत्रीय र जातीय नभएको दावी गरेका छन् । ‘म जनताको नेता हुँ, मेरो घर मधेशमा पर्छ त्यसो हुँदा मेरो नेतृत्वको पार्टी मधेसवादी हो भन्ने भ्रम छ,’ उनले भने. ‘अब सरकार कसको बन्छ वा बन्दैन , को मन्त्री होला भन्ने कुरा अलग्गै हो, राजनीतिक समस्याको निकास नभइकन देश विकासको परिकल्पना गर्न सकिँदैन ।’ संविधानमा आफ्ना कुरा नसमेटिएको भन्दै सातवटा मधेशकेन्द्रित दल सडक र सदनमा आन्दोलन गर्दै आएका छन् ।






