एमालेको पुरानो पार्टी कार्यालय भत्काउन सुरु

Uml officeकाठमाडौँ, ३ असार । नेकपा (एमाले)ले बल्खुस्थित पुरानो पार्टी केन्द्रीय कार्यालयको भवन बिहीवारदेखि भत्काउने कार्य सुरु गरेको छ ।

भूकम्पपछि क्षति भएको बल्खुस्थित पुरानो पार्टी कार्यालयको भवन बिहीबारदेखि भत्काउन सुरु गरिएको पार्टी कार्यालयका कर्मचारी नारायण अर्यालले जानकारी गराउनुभयो । उहाँका अनुसार १० जना मजदुरले भूकम्पबाट क्षतिग्रस्त भवन भत्काउन सुरु गरेका छन् ।

“मजदुरले चौथो तल्लाबाट भत्काउन सुरु गरेका छन्”, उहाँले भन्नुभयो, “आज चौथो तल्लामा रहेको गजुर भत्काउने काम भयो ।” स्थानीय ठेकेदार रामबहादुर श्रेष्ठले बोलकबोलमार्फत ३१ लाख रुपैयाँमा पार्टी कार्यालय भत्काउने जिम्मा पाएका छन् ।

पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले ३ महिनाभित्र भत्काइसकिने बताउनुभयो । श्रेष्ठका अनुसार भत्काउनेले भवनमा रहेको चाइनिज इँट्टा, मूल गेट, काठका सामग्री, ग्रिल, इलेक्ट्रोनिक, झ्याल ढोकालगायत भवनभित्र रहेका सबै सामान लैजाने भएका छन् ।