काठमाडौँ- नयाँ शक्ति नेपालले आर्थिक विकास समृद्धि पार्टीको प्रमुख एजेन्डा भएको घोषणा गरेको छ ।
नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले दशरथ रङ्गशालामा आज आयोजित पार्टी स्थापना घोषणा सभालाई सम्बोधन गर्दै आफ्नो पार्टी कसैका विरुद्ध नभई समृद्ध नेपाल निर्माणार्थ खडा भएको उल्लेख गर्नुभयो । अब हुने स्थानीय निकायको निर्वाचन र आम निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने उद्घोष पनि उहाँले गर्नुभयो ।
“नेपालको पहिलो राजनीतिक खण्ड भौगोलिक एकीकरण, दोस्रो राजनीतिक स्वतन्त्रताले बितेकामा अबको तेस्रो खण्डमा समृद्धि र आर्थिक विकासलाई प्राथमिकता दिनुपर्छ, सात वर्षमा गरिबी र बेरोजगारीको अन्त्य, १५ वर्षमा मध्यमस्तरको विकास एवम् २५ वर्षमा नेपाललाई विश्वकै धनी देश बनाउन सकिन्छ”– उहाँले भन्नुभयो ।
प्राकृतिक स्रोतका हिसाबले नेपाल विश्वकै १० धनी देशमध्येमा पर्ने भएकाले त्यसको भरपूर उपयोग गरेर समृद्धि र विकासको लक्ष्य हासिल गरिने उहाँको भनाइ थियो ।
दलको आगामी कार्ययोजना प्रस्तुत गदै संयोजक भट्टराईले देशका सबै जनताको घर नबनेसम्म निजी सम्पत्ति नजोड्ने प्रतिज्ञा गर्नुभयो । “जबसम्म यो देशमा सबै मान्छेको घर हुन्न तबसम्म आफ्ना निजी सम्पत्ति जोड्ने छैन, यो मेरो भीष्म प्रतिज्ञा हो”– उहाँले भन्नुभयो ।
शिक्षाको अभावमा नारी कति पछि परेका छन् भन्ने उदाहरणस्वरुप आफ्नी आमाको कारुणिक प्रशङ्ग उल्लेख गर्दै डा भट्टराईले महिलालाई समान र समावेशी सहभागिता सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो ।
मधेसी, खस आर्य र जनजातिलगायत सबै वर्गको समानुपातिक प्रतिनिधित्व दलमा गराइने उहाँको भनाइ थियो । मौलाउँदो भ्रष्टाचार न्यून गर्न दलले राजनीतिमा शुद्धीकरण अभियान सुरु गर्ने घोषणा पनि भट्टराईले गर्नुुभयो ।






