परराष्ट्रमन्त्री थापा भारत जाँदै, स्वराजसँग भेट हुने

kamal-thapaकाठमाडौं – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा आज तीन दिने भ्रमणका लागि भारत जाँदैछन् । दक्षिण एसिया विश्वविद्यालयको दिक्षान्त समारोहमा भाग लिनका लागि थापा भारत जान लागेका हुन् ।

सार्क परियोजना अनुरुप यस विद्यालयको स्थापना सन् २०१० मा भएको हो ।

भारत भ्रमणका क्रममा थापाले भारतीय समकक्षी सुस्मा स्वराजसँग भेट गर्ने बताइएको छ । नेपाल र भारतको सम्बन्ध पछिल्लो समय चिसिएको अवस्थामा थापाको भ्रमण सम्बन्ध सुधारको प्रयासको रुपमा समेत हेरिएको छ ।

मन्त्री थापाले समेत सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भनेका छन्, ‘दक्षिण एसिया बिश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन आज भारत जाँदैछु। यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न मद्दत पुग्ने छ।’

भ्रमणका क्रममा थापाले अन्य राजनीतिक भेटघाटसमेत गर्ने बताइएको छ ।

परराष्ट्रमन्त्री भएपछि थापाको यो चौंथो भारत भ्रमण हो ।