बागमतीबाटै २४० किलोवाट प्रतिघण्टा विद्युत निकाल्न ठेक्का

Bagmatiकाठमाडौं, जेठ २७ । पानी नभएर ढल बगिरहेको बागमतीबाट अब चाँडै बिजुली बाल्ने योजना सुन्दा अचम्मजस्तै लाग्छ ।

तर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अन्तर्गतको आयोजनाले बागमतीबाट बिजुली निकाल्न ठेक्कासमेत आह्वान गरिसकेको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार बागमतीमा थप शक्तिशाली ढल प्रशोधन केन्द्र राख्ने र त्यसबाट बिजुली निकाल्ने योजनामा काम सुरु भएको हो । समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहका अनुसार बागमतीमा मिसिने ढल पनि शुद्ध पानीमा परिणत हुनेछ भने प्रशोधन यन्त्रको पंखाबाट बिजुली पनि निकालिने छ ।

योजनाअनुसार गुह्येश्वरीबाट पहिलो चरणमा दुईसय ४० किलोवाट प्रतिघण्टा बिजुली उत्पादन हुनेछ ।

ढल प्रशोधनका लागि प्रयोग गरिने शक्तिशाली मेसिनमा चल्ने पंखाबाट प्रतिघण्टा दुईसय ४० किलोवाट बिजुली निकाल्न सकिनेमा विदेशी ठेकेदारले सहमति जनाएर काम अघि बढाइएको हो ।