काठमाडौं – आन्दोलनरत संघीय गठबन्धनले आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
विभेदकारी संविधान पुनर्लेखन र आन्दोलनरत दलहरूले उठाएका मागहरू सम्बोधन नगरुञ्जेल हाम्रो सङ्घर्ष निरन्तर रूपमा जारी नै रहने गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘सिंहदरवारको नश्लीय सत्ताको जग हल्लाइ सकेको छ । तर, सत्ता पक्ष अझै गम्भीर नदेखिएको मात्र होइन देशमा पटक पटक भएका क्रान्ति, विद्रोह र आन्दोलनका जनादेश, आन्दोलनकारीहरूसँग राज्यले गरेका सम्झौता र सहमतिहरूलाई समेत उल्ट्याएर एक पक्षीय रूपमा अगाडी बढ्यो र अहिले पनि बढिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
संयुक्त राष्ट्रिय आन्दोलनका कार्यक्रमहरू निम्नानुसार तय गरिएको छ :
१. २०७३ जेष्ठ २५ गतेदेखि असार मसान्तसम्म प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौँको शहीद मञ्चमा रिले अनसन ।
२. गठबन्धनका प्रत्येक घटकबाट आ–आफ्ना भातृ सङ्गठनहरूलाई पनि सहभागी गराएर प्रत्येक दिन १/१ जना अनसन बस्ने ।
३. आन्दोलनलाई प्रभावकारी बनाउन प्रत्येक दिन ३ बजे पश्चात् अनसन स्थलमा साहित्यिक कार्यक्रम, सांस्कृतिक सभा र जनसभाको आयोजना गर्ने ।
४. प्रदेश तथा जिल्लाहरूले पनि गठबन्धनका घटक दलहरूको बैठक बसी यस्तै प्रकृतिका आन्दोलनका कार्यक्रमहरू तय गर्न सकिने ।
५. अन्य कार्यक्रमहरू आवश्यकता अनुसार गठबन्धनले सार्वजनिक गर्ने ।






