सगरमाथा दिवस लन्डनमा पनि मनाइयो

london23लन्डन- लन्डनस्थित नेपाली दूतावासमा पनि ९ औं सगरमाथा दिवस मनाइएको छ ।

नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड यूके र शेर्पा एसोसिएसन यूकेको संयुक्त आयोजनामा आइतबार साँझ कार्यक्रम भएको हो ।

न्यूजिल्याण्डका नागरिक सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखरको सफल आरोहण गरेको सम्झनामा अवसरमा नेपाल सरकारले औपचारिक रुपमा एभरेष्ट डे मनाउन थालेको हो ।

कार्यक्रममा बेलायतका लागि कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्रीले सगरमाथा चढ्ने सफल आरोहीहरुलाई वधाई दिंदै आरोहणका क्रममा दिवंगत हुन पुगेका प्रति श्रद्धासुमन अर्पण गरे ।

कार्यक्रममा शेर्पा एसोसिएसन यूकेका अध्यक्ष साना शेर्पाले स्वागत मन्तव्य दिएका थिए भने नेपाल पर्यटन बोर्ड यूकेका प्रतिनिधि पशुपति भण्डारीले नेपालको पर्यटन, सगरमाथा, यसको सुन्दरता, नेपालका प्राकृतिक रमणीय गन्तव्यस्थल र नेपालको जारी पुनर्निर्माण झल्कने भिडियो प्रस्तुत गरे ।

कार्यक्रममा बेलायती आरोही एलन हिन्क्स, काल्साङ शेर्पालगायतले सगरमाथा आरोहरणको अनुभव बाँडेका थिए ।

दूतावासका अट्याची तेजेन्द्र रेग्मी र एभरेष्ट इन ग्रुपका यादव भण्डारीले सञ्चालन गरेको कार्यक्रममा शेर्पा एसोसिएसनले शेर्पा नाच र नेपाली साँस्कृतिक नृत्य प्रस्तुत गरेको थियो ।