इतिहासको ब्याज खाएर बस्ने दलहरु समृद्धिको बाधक : डा. भट्टराई

baburam bhattaraiधादिङ- नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले दलहरुले इतिहासको ब्याज खाएर बस्दा देश विकास र समृद्धिको यात्रामा अगाडि बढ्न नसकेको बताउनुभएको छ ।

शुक्रबार धादिङको सदरमुकाम धादिङबेसीमा नयाँ शक्ति अन्तरिम जिल्ला परिषदले आयोजना गरेको बृहत अन्तरक्रियामा बोल्दै उहाँले भन्नुभयो, ‘दलहरु इतिहासको ब्याज खाएर मात्र बस्नुहुँदैन, सावाँ बढाउन लाग्नुपर्छ ।’ नेपालमा दलहरु नयाँ काम नगरेर इतिहासको ब्याज मात्र खाएर बस्दा समृद्धिको यात्रा अगाडि नबढेको उहाँको तर्क थियो ।
‘नेपाली कांग्रेस ००७ सालको ब्याज खाइरहेछ, एमाले ९ महिने सरकारको र माओवादी गणतन्त्रको,’ उहाँले भन्नुभयो, ‘नयाँ शक्ति इतिहासको ब्याज खाने होइन, विकास र समृद्धिको नेतृत्व गर्दै सावाँ बढाउनतिर लाग्दैछ ।’

उहाँले मनुस्मृतिले मानिसलाई जातको आधारमा बाँढेर जातवाद स्थापित गरेजस्तै पार्टीलाई पनि ब्राण्डको रुपमा स्थापित गरिँदा समाज अगाडि नबढ्ने बताउनुभयो । ‘भौगोलिक एकीकरण र राजनीतिक एकीकरणको चरण सकियो, यसको लागि संयोग नै भन्नुपर्छ ८०-८० वर्ष लाग्यो,’ उहाँले भन्नुभयो, ‘अब भौतिक सभ्यता निर्माणको वा समृद्धिको चरणमा समाज अगाडि बढाउन आवश्यक छ ।’ उहाँले पार्टीलाई विचारको रुपमा बुझ्न र परिवर्तन र युगको आवश्यकतालाई आत्मसाथ गर्न आव्हान गर्नुभयो ।