शेरबहादुर देउवा कांग्रेस सभापतिमा निर्वाचित

Sher_Bdr_Deuba

काठमाडौँ- नेपाली कांग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।

कांग्रेसको १३औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न दोस्रो निर्वाचनमा उहाँले एक हजार ८२२ मत प्राप्त गरी नेपालको पुरानो पार्टीको सर्वोच्च पदमा पुग्न सफल हुनुभएको हो ।

सभापति पदका अर्का प्रत्यासी पार्टीका कावा सभापति रामचन्द्र पौडेलले एक हजार २९६ मत प्राप्त गर्नुभयो । कुल मतदाता तीन हजार १४० मध्ये खसेको थियो । खसेको मत मध्ये २२ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

elecकांग्रेसको १०औँ महाधिवेशनमा सभापतिमा गिरिजाप्रसाद कोइराला र १२औँ महाधिवेशनमा सुशील कोइरालासित उहाँ पराजित हुनुभएको थियो । सभापति पदमा कुनै पनि उम्मेदवारले पार्टीको विधानतः बहुमत पुर्‍याउन नसक्दा कांग्रेस इतिहासमा पहिलो पटक सभापतिका लागि दोस्रो चरणको निर्वाचन भएको थियो ।

आइतबार राष्ट्रिय सभागृहमा नयाँ नेतृत्वका लागि भएको मतदानमा सभापतिमा तीनै उम्मेदवार कावा सभापति पौडेल, वरिष्ठ नेता देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आजै दोसो चरणको निर्वाचन भएको थियो ।

सोमबार बिहान करिब ५:३० बजे सम्पन्न मतगणनानुसार सभापतिका लागि प्रथम चरणका प्रत्यासी देउवाले एक हजार ५६४ र पौडेलले एक हजार १५२ मत प्राप्त गर्नुभएको थियो ।

प्राप्त मत परिणामानुसार प्रथम चरणमा नेता देउवाको अग्रता रहे पनि ११ मत नपुगेकाले उहाँ पार्टी सभापति बन्नबाट चुक्नुभएको थियो । सभापतिका अर्का प्रत्यासी सिटौलाले ३२४ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा महामन्त्री सिटौलाले सबैभन्दा कम मत प्राप्त गरेकाले उहाँ दोस्रो चरणको निर्वाचन प्रक्रियाबाट बाहिरिनुभएको थियो ।