बेलायती अवार्ड नेपाली अनुसन्धानकर्तालाई (भिडियो सहित)

लन्डन । दक्षिण पूर्वी नेपालमा हात्तीको बासस्थान सम्वन्धि अनुसन्धान गर्ने एक नेपालीले बेलायती अवार्ड पाएका छन् । काठमान्डूस्थित हेल्थ एण्ड इन्भाइरोमेन्टल म्यानेजमेन्ट सोसाइटी (हेम्स्) का अनुसन्धान अधिकृत रोशन कुमार ठाकुरले ‘दि सेन्टिफिक एक्सप्लोरेसन सोसाइटी इन्सपिरेसनल एक्सप्लोरर अवार्ड २०१६’ पाएका हुन् ।

सोमबार सांझ लन्डनमा आयोजित विशेष समारोहमा विजेता उपस्थित नभएपछि उक्त संस्थाका उपाध्यक्ष एवं एनआरएनए जर्मनीका युथ कोअर्डिनेटर डा. जयकृष्ण ठाकुरले अवार्ड ग्रहण गरे । सोसाइटीका संस्थापक तथा मानार्थ अध्यक्ष जोन ब्लासफोर्ड स्नेलले ठाकुरको अनुसन्धानबारे जानकारी दिंदै अवार्ड प्रदान गरेका थिए । ठाकुरले करिब ५ वर्ष यता जंगली हात्तीको सिजन अनुसार फरक फरक बासस्थान हुने र बास फेर्ने क्रममा सर्वसाधारणले जिस्क्याउने, पिट्ने गर्दा हात्ती हिंश्रक भइ जनधनको क्षति समेत पुर्याउने सम्वन्धमा अनुसन्धान गरिरहेका छन् ।

जंगली हात्ती विशेष गरि नदी किनारमा बस्न रुचाउने भएपनि बढ्दो मानव वस्तीका कारण हात्तीको बासस्थान असुरक्षित बन्दै गएको ठाकुरको अनुसन्धानमा छ । सोसाइटीले ठाकुरको अनुसन्धानलाई ६ हजार पाउण्ड समेत प्रदान गरेको थियो । ‘

दि सेन्टिफिक एक्सप्लोरेसन सोसाइटी एक्सप्लोरर अवार्डस् २०१६’ बाट अन्य अन्वेषणकर्ताहरु समेत सम्मानित भएका छन् । सोसाइटी अध्यक्ष एन्ड्रियू मिसेलले अन्वेषणकर्ताहरुलाई प्रेरित गर्न अवार्ड वितरण गरिएको जानकारी दिए ।

अवार्ड कार्यक्रममा सहभागी एनआरएनए युरोप संयोजक कुल आचार्यले यस्ता अवार्डबाट अनुसन्धानकर्तालाई थप प्रेरणा मिल्ने र एनआरएनएले पनि युवाहरुको वृत्ति विकासमा ध्यान दिइरहेको बताए । सन् १९६९ मा स्थापित सोसाइटी यूके च्यारिटीमा दर्ता छ ।13256272_10207609195962680_2539051854202552005_n[1]