काठमाडौँ- अमेरिकामा प्रशिक्षणका क्रममा रहेका एघारौँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामाले ‘२२औँ ट्रेडिसनल कराते डो आमन्त्रण च्याम्पियनसिप’मा स्वर्ण पदक जितेका छन् ।
सोतोजुकु कराते डोजोको आयोजनामा न्युयोर्कमा आइतबार अबेर भएको प्रतियोगिताको ६७ केजी तौल समूहमा पहिलो चरणमा ‘वाइ’ पाउँदै उनी सेमिफाइनलमा प्रवेश गरेका थिए । त्यसपछि सेमिफाइनल स्पर्धामा सुनिलले अमेरिकी जोय कास्ट्रोलाई ७–३ अङ्कले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।
त्यस्तै फाइनलमा विल टोरेसलाई १–० ले पराजित गर्दै उनले स्वर्ण हात पार्न सफल भएका हुन् । सो प्रतियोगितामा तेह्रौँैँ एसियाली खेलकुदमा करातेका कास्य पदक विजेता सम्बरबहादुर गोलेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
सुनिल सन् २०१२ मा हङकङमा आयोजित तेह्रौँ एसियाली प्यासिफिक कराते प्रतियोगिताका पनि स्वर्ण विजेता हुन् । न्युयोर्कस्थित गोसिन रियो कराते एकेडेमीमा प्रशिक्षण लिइरहेका उनले यसअघि पनि गत वैशाख १३ गते न्युयोर्कमै आयोजित एक्काइसौँ एन्युएल हेराल्डोज काइ सोबुकान कराते च्याम्पियनसिपमा स्वर्ण जित्दै २०० अमेरिकी डलर हात पार्न सफल भएका थिए । उनी प्रशिक्षणका लागि करिब तीन महिना अमेरिकामै रहने कार्यक्रम छ ।






