पनामा पेपर्समा नाम जोडिएपछि महतोले दिए यस्तो स्पष्टिकरण

upendra-mahato-300x300काठमाडौं- पनामा पेपर्समा आफ्नो नाम पनि परेपछि गैरआवासिय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतोले त्यस विषयमा प्रष्टिकरण दिएका छन्। उनले प्रेस विज्ञप्ती जारी गरेर विदेशमा गरेको लगानी वैध भएको जानकारी समेत दिएका छन्।

अफसोर कारोबारमार्फत गैरकानूनी काम नगरेको प्रष्ट पार्दै उनले नकारात्मक प्रतिक्रिया र भ्रम नराख्न सबैलाई आग्रह समेत गरेका छन्। उनले आफू विगत ३५ वर्षदेखि अध्ययन र व्यवसायको सिलसिलामा विदेशमा बस्दै आएको जानकारी दिंदै विदेशमा बस्दा कमाएको पुँजीलाई नेपाल बाहेक युरोप, एसिया र अफ्रिकाका विभिन्न देशमा व्यवसायिक प्रतिष्ठानहरु खडा गरेर लगानी गरेको बताएका छन्।

विदेशमा रहँदा मूलत: व्यवसायमा संलग्न रहेको र त्यो लगानीको पूँजी विदेशमै आर्जन गरेको उनले स्पष्ट पारेका छन्। उनले प्रेस विज्ञप्तीमा भनेका छन्, विदेशमा बस्ने नेपाली नागरिकले आफू बसेको ठाउँमा कमाएको पूँजी त्यहीँ वा अन्य मुलुकमा लगानी गर्ने कुरा कानूनसम्मत र विश्वव्यापी प्रचलनमा छ ।

उनले धेरै देशमा लगानी गर्न सहजताको लागि अन्तर्राष्ट्रिय कानून र प्रचलन अनुसार आफूले पनि विदेशमा कम्पनी खोलेको र त्यहाँबाट विभिन्न देशमा त्यहाँको स्थानीय कानून अनुसार लगानी गरेको उनले जानकारी दिएका छन्।

उनले त्यस बाहेक नेपालमा गरेको लगानी पनि विदेशबाटै ल्याएको र अझै ल्याउने दृढ समर्पणका साथ काम गरिरहेको समेत बताएका छन्। विगत धेरै वर्षदेखि विदेशी लगानीकर्ता साथीलाई समेत नेपालमा आमन्त्रित गरेर विभिन्न स्थानमा व्यवसाय विस्तार गरिरहेको जानकारी समेत उनले दिएका छन्।

डा. उपेन्द्र महतोको प्रेस वक्तव्य

काठमाडौं, वैशाख २९, २०७३

अन्तर्राष्ट्रिय खोज पत्रकार समूहले सार्वजनिक गरेको पानामा पेपर्सको दोस्रो विवरणमा अफसोर कारोबार गर्ने भनी मेरो समेत नाम आएपछि गैरकानूनी काम गरेको हो कि भन्ने ढंगले समाजमा उत्पन्न हुनसक्ने नकारात्मक प्रतिक्रिया र भ्रमलाई समयमै चिर्नु आफ्नो कर्तव्य ठान्दछु ।

म विगत ३५ वर्षदेखि अध्ययन र व्यवसायको सिलसिलामा विदेशमा बस्दै आएको सर्वविदीतै छ । यसै क्रममा विदेशमा छरिएर रहेका नेपालीलाई संगठित गर्दै मातृभूमिसँग जोड्ने र त्यसको समृद्धिमा आ-आफ्नो क्षमता अनुरुपको योगदान गर्न उत्प्रेरित गर्ने उद्देश्यले संचालित गैरआवासीय नेपाली अभियानको नेतृत्व गर्दै मैले सन् २००३ देखि २००९ सम्म गैरआवासीय नेपाली संघको संस्थापक अध्यक्षको हैसियतमा समुदाय र मुलुकको सेवा गर्ने सौभाग्यपनि पाएको छु । गैरआवासीय नेपाली अभियानकै प्रेरणाले विदेशमा बस्ने धेरै भन्दा धेरै नेपालीहरुमा आफ्नै कर्मभूमिमा व्यापार-व्यवसायको विकास गर्ने, संचित पूँजीलाई नेपाल भित्र्याएर व्यवसाय र रोजगार सृजनामा योगदान दिने जुन पहल विकसित भएको छ, एक अभियन्ताका नाताले त्यो मेरालागि ठूलो आत्मसन्तुष्टीको विषय हो ।

मूलत: व्यवसायमा संलग्न रहेको हुँदा नेपाल बाहेक युरोप, एसिया र अफ्रिकाका विभिन्न देशमा मेरा व्यवसायिक प्रतिष्ठानहरु छन्, लगानी छ । मैले विदेशमा जेजति लगानी गरेको छु, त्यो पूँजी विदेशमै आर्जन गरेको स्वत: स्पष्ट नै छ । विदेशमा बस्ने नेपाली नागरिकले आफू बसेको ठाउँमा कमाएको पूँजी त्यहीँ वा अन्य मुलुकमा लगानी गर्ने कुरा कानूनसम्मत र विश्वव्यापी प्रचलनमा छ । धेरै देशमा लगानी गर्न सहजताको लागि अन्तर्राष्ट्रिय कानून र प्रचलन अनुसार मैलेपनि विदेशमा कम्पनी खोलेको छु, जस मार्फत विभिन्न देशमा त्यहाँको स्थानीय कानून अनुसार लगानी भएका छन् ।

त्यस बाहेक मैले नेपालमा गरेको लगानीपनि विदेशबाटै ल्याएको हुँ र अझै ल्याउने दृढ समर्पणका साथ काम गरिरहेको छु । यसै क्रममा विगत धेरै वर्षदेखि मैले अन्य विदेशी लगानीकर्ता साथीहरुलाई समेत आमन्त्रित गरेर मुलुकका केही स्थानमा आफ्नो व्यवसायलाई विस्तार गरिरहेको व्यहोरा अवगत गराउन चाहान्छु ।

डा. उपेन्द्र महतो

काठमाडौं