हेटौँडा- उपप्रधानमन्त्री तथा राप्रपा ९नेपाल० का अध्यक्ष कमल थापाले वर्तमान सरकारको विकल्प खोज्नुअघि एनेकपा ९माओवादी० अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले पुनः विचार गर्नुपर्ने बताउनुभएको छ ।
मिडिया नेपाल मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै अध्यक्ष थापाले भन्नुभयो, ‘‘सरकार परिवर्तन गर्दा राष्ट्रियता कमजोर हुने, राजनीतिक अस्थिरता बढ्दै जाने तथा संविधान कार्यान्वयन कठिन र जटिल हुँदै जाने भएकाले यसमा पुनः विचार गर्न आग्रह गर्दछु ।’’
अध्यक्ष थापाले वैशाख १२ गतेको भूकम्प, असोज ३ गतेको संविधान जारीपछि मधेस आन्दोलन, भारतद्वारा अघोषित नाकाबन्दीजस्ता विषम परिस्थितिमा पुनःनिर्माण गर्नुपर्ने दायित्वका बीच राष्ट्रियताको जगमा अडेको वर्तमान सरकारले आर्थिक विकास र पुनःनिर्माणको काम अघि बढाउने अवस्थामा प्रचण्डले आफ्नो दल सहभागी भएको सरकारले ठोस काम गर्न नसकेको र सरकारको विकल्प खोज्नुपर्ने वक्तव्य निकाल्नु अप्रत्याशित र अनपेक्षित रहेको बताउनुभयो ।
उहाँले एक प्रश्नको उत्तरमा वर्तमान सरकार गठन गर्नुअघि जुन बहिरी शक्तिको चलखेलले अवरोध पुर्याएको थियो, त्यही शक्तिले हाल पुनः चलखेल गरेको आरोप लगाउनुभयो ।







