तम्घास (गुल्मी)- गुल्मीको रेसुङ्गा नगरपालिका–१२ सिमिचौरअन्तर्गत रैयाँमा शनिबार बिहानदेखि भीषण आगलागी भएको छ । आगलागीबाट उक्त क्षेत्रमा तीनजनाको घरगोठ जलेर नष्ट भइसकेको छ ।
आगलागीबाट गोविन्द अर्याल र रामप्रसाद अर्यालको घरगोठ जलेको छ भने भुवन अर्यालको गोठ जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । शनिबार बिहानदेखि गाउँदेखि तल जङ्गलबाट सल्केको आगोले उक्त घरगोठ जलेको हो ।
आगलागी भएको थाहा पाएपछि अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी बेलुकासम्म आगो निभाउन लागिपरेका छन् । प्रचण्ड गर्मी र हावाहुरीका कारण आगो नियन्त्रण गर्न समस्या परेको बताइएको छ । आगो निभाउनका लागि सहयोग गर्न स्थानीय प्रशासन र सञ्चारमाध्यमले आमसमुदायमा आग्रह गरिरहेका छन् ।
आगो अहिले पनि नियन्त्रणभन्दा बाहिर रहेको हुँदा सुरक्षाकर्मीले अग्निरेखा काटेर बस्तीलाई जोगाउने प्रयास गरिरहेको छ । आगलागीका कारण रैयाँको गाउँ यतिबेला उच्च जोखिममा परेको छ ।






