जनताका पीडाले मलाई पनि भित्रभित्रै पोल्छ : प्रधानमन्त्री

kp nationsकाठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा ठूला राजनीतिक परिवर्तन आएपनि जनताको दुःख निवारण नभएकोमा सर्वसाधारणलाई झैँ आफूलाई पनि भित्रभित्रै पोल्ने गरेको बताउनुभएको छ ।

नयाँ वर्ष २०७३ को उपलक्ष्यमा आज साँझ आफ्नै कार्यकक्षबाट दिनुभएको सन्देशमा उहाँले लोकतन्त्रका लागि चार जना प्रातःस्मरणीय सहिदहरूले हाँसीहाँसी मृत्यु अँगालेका र ७५ वर्षपछि संविधान घोषणा भएको बताउँदै अधिकार प्राप्तिको आन्दोलन आधारभूतरूपले टुङ्गिएको तर एउटा पीडाले तपाईंहरूलाई जस्तै मलाई पनि भित्रभित्रै पोल्छ, मुलुकमा यति ठूला राजनीतिक परिवर्तन आए तर जनताको दुःख उस्तै छ भन्नुभएको छ ।

उहाँले सबै राजनीतिक दल र मित्रहरूलाई अब राष्ट्रको हित र जनताको समृद्धिको लक्ष्यमा केन्द्रित हुन आग्रह गर्दै प्रतिस्पर्धा, आवधिक निर्वाचन र सरकारको विषय लोकतन्त्रको चरित्र भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तर राष्ट्रको समृद्धि र जनताको श्रीवृद्धि भने स्थायी र साझा विषय हुन् । परिस्थिति फेरिन्छ । सन्दर्भहरु फेरिन्छन् । राजनीतिक नेतृत्वले तदनुरुप नै आफूलाई परिमार्जन गरी अद्यावधिक हुन र समयानुकूल नेतृत्व दिन सक्षम हुनुपर्छ ।”

प्रधानमन्त्रीले दलहरू बढी आत्मकेन्द्रित भए र आन्दोलनको धरातललाई राजनीतिक नेतृत्वले दिनुपर्ने ध्यान दिन सकेनन् भन्ने जनताका गुनासा मननीय लागेका बताउँदै अब नयाँ राजनीतिक संस्कृतिको विकास गर्ने बेला भइसकेकोतर्फ राजनीतिक दलहरुको ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले संविधानको कार्यान्वयनका लागि पनि बृहत्तर राष्ट्रिय समझदारी आवश्यक भएको तथा वर्तमान सरकारका तर्फबाट आफू त्यसप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट गर्दै सहमतिका लागि सकारात्मक योगदान गर्न सबैलाई आह्वान गर्नुभयो ।