काठमाडौं- सरकारले २१ वटा देशमा लामो समयदेखि राजदूत नियुक्त गर्न सकेको छैन । केही देशमा राजदूत भएपनि उनीहरुको कार्याकाल पनि सकिन आँटेपछि अब २१ वटा देश राजदूतविहीन बन्दैछन् ।
परराष्ट्र मन्त्रालयका सह–सचिव तथा प्रवक्ता ताराप्रसाद पोखरेलका अनुसार, बैशाखमा आफ्नो कार्यकाल सकेर केही राजदूत नेपाल फर्कदैंछन् भने म्यान्मानको राजदूतको समयावधि असारसम्मको लागिमात्र छ । पोखरेलले बेलायत र जर्मनीमा राजदूत खालि भएको धेरै समय भएको जनाए । जर्मनमा २५ वर्षदेखि राजदूत नियुक्त गरिएको छैन भनें बेलायतले पनि राजदुत नपाएको निकै वर्ष भएको छ ।
बेलायत, वेल्जियम, ब्राजिल, चीन, ईजिप्ट, वेल्जियम, इजरायल, जापान, कोरिया ,कतार, पाकिस्तान, रसिया, साउदी, श्रीलंका, यूएइलगायतका देशमा कतै केही दिनमै खालि हुँदैछ भनें कतै राजदूत नियुक्त गरिएकै छैन । मन्त्रालयका प्रवक्ता पोखरेलले राजदूत नियुक्त हुन नसक्दा दुई देशबीचको आपसी सम्वन्ध राम्रो बन्न नसकेको बताए । ‘ राजदूत नियुक्त नहुँदा मानिसको हेर्ने दृष्टिकोण नै गलत हुन्छ त्यसैले समयमै राजदूत नियुक्त गर्नु सरकारको दायित्व हो ’ मन्त्रालयका प्रवक्ता पोखरेलले भने ‘ राजदूतको समय सकिन आँटेपछि मन्त्रालयले तत्काल अर्को व्यक्ति तयारी गरेर पठाइहाल्छ, यताबाट जाने र उताबाट आउने सँगै हुन सक्छ । ’
कुनै कारणबस अचानक राजदूत खाली हुने अवस्था आए त्यही दूतावासमा कार्यरत अरु कसैलाई निमित्त दिने चलन छ । सुशील कोइरालाले सरकारको नेतृत्व गरेका बेला महेन्द्रप्रसाद पाण्डे परराष्ट्रमन्त्री हुँदा अमेरिका ,साउथ अफ्रिका ,फ्रान्स, कुवेतलगायतका देशमा राजदूत बनाइएको थियो । मन्त्रालय स्रोतका अनुसार, पछिलो समयमा सरकारले साउदी अरव, ओमन, बहराइन, कतार, कुवेतजस्ता देशमा राजदूत नियुक्त गरेको छ ।
१ सय ९३ वटा देशमध्ये २९ देशमा मात्र नेपाली राजदूत राखिएको छ । सरकारले पोर्चुगल र स्पेनमा पनि राजदूतावास राख्नुपर्ने खाँचो महसुस गरेकाले प्रक्रियाका लागि गृहकार्य अघि बढाएको छ । खिलराज रेग्मीले मन्त्रिपरिषद्को नेतृत्व गरेका बेला भारतका लागि निरन्जन बस्नेतलाई राजदूत बनाइयो । राजदूतले पदीय मर्यादाविपरीत कुनै काम गरे मन्त्रालयले हटाउन सक्ने व्यवस्था छ ।
राजदूतको कार्याकाल कति रहने भन्ने प्रष्ट छैन तर परराष्ट्रका कर्मचारीलाई भनें सामान्यतया ४ वर्षको लागि दूतावासमा पठाउने गरिएको अमेरिकाका लागि पूर्व राजदूत डा. शंकर शर्माले बताए । ‘भइरहेका राजदूतावास व्यवस्थित गर्न सकिएको छैन , त्यहाँ हाम्रो प्रभावकारिता नबढाउने हो भनें नयाँ दूतावास खोल्नुको कुनै अर्थ छैन ’ शर्माले भने ‘ राजदूत र दूतावासमार्फत त्यहाँ बसोबास गरेका नेपालीको काम गर्न र गराउन सजिलो हुन्छ , दूतावास नभएपछि अर्कोलाई गरिदिनका लागि गरेको आग्रह त्यति प्रभावकारी बन्न सक्दैन । ’






