मनोनयनको सूची बनाउँदै देउवा

sherकाठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन र संसदीय दलको निर्वाचनबाट जिम्मेवारी नपाएकाहरु अव मनोनयनमा पर्न आन्तरिक कसरतमा लागेका छन् ।

सभापति शेरबहादुर देउवाको तर्फबाट समेत प्रारम्भिक सूची तयार भएको छ । उनले मनोनयन गर्दा सवै क्षेत्र र समुदायकालाई समेट्ने प्रयास गर्ने भएका छन् भने समुहगत हिसावले बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मनोनयन पर्ने सम्भावना कम छ। बरु उनले सभापतिका प्रत्यासी कृष्णप्रसाद सिटौला समुहका केही नेतालाई भने केन्द्रीय सदस्य बनाउने सोचमा रहेको बताइएको छ।

देउवा निकट एक नेताले दिएको जानकारी अनुसार पौडेल पक्ष परित्याग गरेर पछिल्लो समयमा देउवा समुहमा आएकाहरुलाई उनले केन्द्रीय सदस्य बनाउने प्राथमिकतामा पारेका छन् । पौडेल समुहबाट कोषाध्यक्षको उम्मेदवार हुन नपाएपछि विच्कीएका पद्मनारायण चौधरी देउवाको मनोनयनमा केन्द्रीय सदस्यको सुचीमा एक नम्बर मा रहेका छन्।

पार्टीका पुर्वसभापति सुशील कोइरालाका भाई अशोक कोइराला पनि देउवाले मनोनयन गर्ने नेताको प्राथमिकतामा परेका छन् ।

अघिल्लो महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य नरेन्द्रविक्रम नेम्वाङ, कास्कीका पुराना नेता शुक्रराज शर्मा, पुर्वकेन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष समेत रहेका बर्दियाका किशोरसिंह राठौर, पुर्वकेन्द्रीय सदस्य पर्वतका अर्जुन जोशीलाई देउवाले फेरी केन्द्रीय सदस्य बनाउने भएका छन् ।

देउवालाई सघाउन आफु निर्वाचनमा नलडेका पूर्वकेन्द्रीय सदस्य श्याम घिमिरे, बाराका जिल्ला सभापति राधेचन्द्र यादव, मोरङका पुर्वजिल्ला सभापति अमृत अर्याल, महिला भएर पनि खुल्लातर्फ निर्वाचन लडेर हारेकी पुर्व केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनालाई पनि देउवाले केन्द्रीय सदस्य बनाएर प्रोत्साहित गर्ने भएका छन् ।

देउवाले युवा नेता उदय शमसेर जबरा र उमेश श्रेष्ठलाई पनि मनोनयन गर्ने तयारी गरेका छन् ।