सांसदका छोराले बैंकका म्यानेजर कुटे

1905विराटनगर- मोरङमा एकजना सांसदका छोराले बैंकका म्यानेजरमाथि निर्घात कुटपिट गरेका छन् । केरावारी-१ मा रहेको एनएमबी बैंक शाखा कार्यालयका म्यानेजर ४० वर्षीय अविन श्रेष्ठमाथि बिहीबार राति कुटपिट भएको हो । कुटटिबाट बैंक म्यानेजरको कन्चटमा गहिरो चोट लागेको छ ।

मोरङको कोसीहरैंचा नगरपालिका-१ का ३५ वर्षीय आशीष गुरुङले बियर खाने गिलासले विराटनगर-६ घर भएका बैंक म्यानेजर श्रेष्ठलाई कुटेका हुन् । उनी मोरङको निर्वाचन क्षेत्र नम्बर ८ का एमालेका प्रत्यक्षतर्फका सभासद् चन्द्रबहादुर गुरुङका छोरा हुन् ।

केराबारी-२ मा रहेको बाबरी होटेल एण्ड खाजा घरमा खाना खाइरहेको अवस्थामा आक्रमण हुँदा श्रेष्ठको टाउको र दायाँ कन्चट फुटेको छ । गम्भीर अवस्थाका उनको विराटनगरमा उपचार भइरहेको छ ।

मादकपदार्थ खाइरहेका युवामध्ये एकजना आफूतिर आएर निहुँ खोजेको र गिलास प्रहार गरेको उनले बताए । घटनालगत्तै सांसदका छोरा र युवा समूह फरार छन् ।