भरत पाण्डेय
काठमाडौं
ग्यास उद्योगी र विक्रेताको हर्कतले बजारमा ग्यासको अभाव भएको पुष्टि भएको छ। ग्यास उद्योग महासंघ र विक्रेता महासंघका पदाधिकारीले नै ग्यास कालोबजारी गरेको शुक्रबार फेला परेको छ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले पुरानो डिलरलाई ग्यास बिक्री नगरी नयाँ डिलर खडा गरेर बिक्री गरेको फेला परेपछि उद्योगी नै कालोबजारीमा लागेको पुष्टि भएको हो। यसअघि बिहीबार मात्रै ग्यास विक्रेता महासंघका सचिव कृष्णप्रसाद गैरेले कालोबजारी गरेको फेला परेको थियो।
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौं र ग्यास विक्रेताहरूले गरेको अनुगमनका क्रममा सुगम ग्यासका सञ्चालकसमेत रहेका घिमिरेले राखेको १ सय ४० वटा ग्यास सिलिन्डर भरिएको अवस्थामा फेला परेको थियो। नयाँ बानेश्वरमा रहेको पुरानो डिलरलाई ग्यास नदिई नयाँ डिपो खडा गरेर ग्यास दिएको फेला परेको हो। घिमिरे आफैंले व्यवस्थापिका संसद्अन्तर्गतको अनुगमन समितिसमक्ष आयल निगम र विक्रेताको चलखेलका कारण ग्यास अभाव भएको आरोप लगाएका थिए। उद्योगी र विक्रेताले सरकारले भारतबाट कम ग्यास ल्याएको भन्दै सरकारलाई आरोप लगाउँदै आएका छन्।
आयल निगमले भने ग्यास आपूर्तिमा सामान्य मात्रै कमी आएको जनाउँदै आएको थियो। गत वर्ष डिसेम्बर महिनामा १९ हजार ७ सय ७५ टन ग्यास आएकोमा यो वर्ष डिसेम्बरमा १८ हजार ८ सय ८६ टन ग्यास आएकाले जम्मा १ हजार टन कम ल्याउँदा यति हाहाकार हुनु नपर्ने निगमले बताउँदै आएको थियो। उद्योगी र विक्रेताका पदाधिकारीकहाँ नै ग्यासमा अनियमितता भेटिएपछि कालोबजारी गरेर उपभोक्ता ठगेको पुष्टि हुन पुगेको छ।
यसअघि आयल निगममा ग्यासको कोटा बढाउन गरिएको प्रस्ताव आयल निगमले अस्वीकार गरेपछि उद्योगीहरूले आन्दोलनको चेतावनीसमेत दिएका थिए। आनो प्रस्ताव अस्वीकार गरेको झोंकमा उद्योगी र विक्रेताले कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता ठगेको आयल निगमका कर्मचारीले बताए। यसअघि बिहीबार ग्यास विक्रेता महासंघका सचिव कृष्णप्रसाद गैरेको सिनामंगलस्थित निखिल खाद्य भण्डारबाट ३ हजार ७ सय ७० रुपियाँ पर्ने ग्यास सिलिन्डर ४ हजार रुपियाँमा बिक्री गरेको फेला परेको थियो।
सरकारले २ वर्ष अघिदेखि किरानापसलमा ग्यास राख्न नपाइने व्यवस्था गरेको भए पनि गैरेको पसलमा भने सरकारको व्यवस्था उल्लङ्घन गर्दै बिक्री गरेको भेटिएको हो।
संघका अध्यक्ष घिमिरेले भने डिलर दिने र ग्यास बेच्ने उद्योगको छुट्टै समिति भएकाले आफूलाई यसबारे थाहा नभएको बताउनुभयो। ‘छुट्टै बजार समिति छ, मलाई जानकारी छैन।’ –उहाँले भन्नुभयो। उहाँले पुरानोलाई दिए नदिएको भन्ने आरोप लगाउनुभन्दा कति गएको छ, कहाँ गएको छ भनेर मेरो पहिला बिक्री हेर्नुपर्यो भन्दै आफ्नो बचाउ गर्नुभयो।






