
काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको नेताको चुनाव बुधबार हुँदैछ ।
निर्वाचनमा सभापति शेरबहादुर देउवा सुविधाजनक बहुमतमा देखिएका छन्। संसदीय दलको नेतामा देउवा र नेता रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुँदैछ ।
संसदीय दलको नेताको निर्वाचनमा देउवा बुहमतमा देखिएका हुन्। तत्कालीन सभापति सुशील कोइरालालाई दलको नेतामा समर्थन जनाएका डेढ दर्जन सांसद देउवाका पक्षमा खुलेपछि कांग्रेस संसदीय दलको नेतामा देउवाको जित निश्चितप्रायः बनेको छ।
यस्तै १३ औँ महाधिवगेशनमा नेता पौडेलको विपक्षमा खडा भएका कृष्णप्रसाद सिटौला पक्षको मंगलबारको भेलाले निर्वाचनमा देउवालाई समर्थन गर्ने निर्णय गरेको एक नेताले बनताए। सिटौला निवासमा निकट सांसदहरुको भेला चलिरहँदा सभापति देउवा त्यही पुगेका थिए।
दलको नेतामा निर्वाचित हुन एक सय ४ मत ल्याउनु पर्ने हुन्छ। कांग्रेसमा हाल दुई सय ७ सांसद छन्। यसअघि भएको निर्वाचनमा तत्कालीन सभापति सुशील कोइरालाले एक सय पाँच मतसहित दलको नेतामा निर्वाचित भएका थिए भने देउवाले ८९ मत पाएका थिए।






