पहिलो दिनको एसएलसी परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न

slc1भक्तपुर- आजदेखि देशभर एकै साथ सुरु भएको यस वर्षको प्रवेशिका परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजको पहिलो दिनको अङ्ग्रेजी विषयको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिनुभयो ।

देशभर एक हजार ४४३ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि १०:३० बजेसम्म सञ्चालन भएको परीक्षामा कुल छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए । भोलि १९ गते नेपाली विषयको परीक्षा सञ्चालन हुनेछ ।

यसैबीच, भक्तपुरको तीन वटा एसएलसी परीक्षा केन्द्र महिलाको जिम्मामा सञ्चालन भएको छ । जिल्लाको दरबार स्क्वायरस्थित विद्यार्थी निकेतन उच्च मावि, व्यासीस्थित वासु उमावि र मध्यपुरथिमिस्थित आदर्श उच्च माविको परीक्षाको सम्पूर्ण जिम्मा महिला जनशक्तिलाई लगाइएको जिल्ला शिक्षा अधिकारी दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यार्थी निकेतन उमाविकी प्राचार्य सर्जनी जोशी, आदर्श उमाविकी प्राचार्य विद्यादेवी चित्रकार र वासु उमाविकी प्राचार्य अम्बिका न्याईच्याई केन्द्राध्यक्ष रहेका यी तीन परीक्षा केन्द्रमा सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी समेत महिला नै परिचालन गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

भक्तपुरमा चारजना अपाङ्गले परीक्षामा सहभागिता जनाएका छन् ।