एसएलसी परीक्षा सुरु, छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी

एसएलसी परीक्षा सुरु, छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी

काठमाडौँ- भूकम्प र अघोषित नाकाबन्दीको असर बिर्सँदै आज बिहानबाट सवा छ लाख परीक्षार्थी (एसएलसी)प्रवेशिका परीक्षामा सामेल भएका छन् ।

बिहान ८ बजेबाट देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु भएको परीक्षा शान्तिपूर्ण सञ्चालन भइरहेको छ । परीक्षा १२ बजेसम्म सञ्चालन हुनेछ ।

परीक्षाका लागि कुल छ लाख १५ हजार ५५३ परीक्षार्थीले आवेदन दिएका थिए । जसमा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र ‘एक्ज्याम्टेड’तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी छन् । यस वर्षबाट अक्षराङ्कन पद्धतिमा मूल्याङ्कन हुने गरी परीक्षा सुरु भएको हो । भूकम्प र अघोषित नाकाबन्दीको असरका बीच यस वर्ष विद्यार्थी पूर्ववत् समयमै परीक्षामा सामेल भएका छन् ।

यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ जना परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा बढी काठमाडौँमा ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिनेछन् । परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी काठमाडौँका ३५ हजार ७२९ र सबैभन्दा कम मनाङका ६३ परीक्षार्थी सम्मिलित हुनेछन् । परीक्षामा देशभर ७२ हजार ८९६ जनशक्ति परिचालन गरिने भएको छ । सुरक्षाकर्मी मात्रै २९ हजार १४५ परिचालन हुनेछन् ।

परीक्षाका क्रममा झापाको अनुगमनमा पुग्नुभएका शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले देभभर परीक्षा शान्तिपूर्ण रुपमा चलेको जानकारी आएको बताउनुभयो । विश्व निकेतन मावि, त्रिपुरेश्वरका केन्द्राध्यक्ष हेरम्बराज कँडेलले त्यहाँ २९६ विद्यार्थी रहेकामा आज २९३ उपस्थित भएको बताउनुभयो । उहाँले विद्यार्थीमा कुनै त्रास र भय नपाइएको बताउनुभयो ।