चीनद्वारा नेपालको संविधानको स्वागत

nepal-china-flagकाठमाडौं– नेपाल र चीनबीच भएका सम्झौता र छलफलको बारेमा १५ बुँदे संयुक्त विज्ञप्ति जारी भएको छ ।

प्रधानमन्त्री केपी ओलीको साताव्यापी चीन भ्रमणमा विभिन्न सम्झौता भएका छन् । आज दुवै देशको तर्फबाट विज्ञप्ति जारी भएको भ्रमण टोलीका एक सदस्यले बताए ।

ओलीको भ्रमणको क्रममा चीन र नेपालबीच स्वतन्त्र व्यापार सम्झौता, पारवहन सम्झौता, चीनले नेपाललाई गर्ने ऋण सम्झौता, तेल तथा ग्यास अन्वेषण गर्न सहयोग गर्ने सम्झौता लगायतमा हस्ताक्षर भइसकेको छ । चीनले गत असोजमा जारी भएको संविधानको स्वागत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको अबसर पारेर जारी गरिएको १५ बुँदे संयुक्त विज्ञप्तीमा नेपालको संविधानको स्वागत गर्दै राजनीतिक स्थिरता र आर्थिक विकासमा अघि बढ्न आग्रह गरेको छ । दुवै देशले एक अर्काको स्वतन्त्रता, भोगोलिक अखण्डता र स्वाधिनताको रक्षा गर्ने पनि संयुक्त विज्ञप्तीमा जनाइएको छ । एक साता लामो चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीति प्रति स्पष्ट रहेको बताए ।

विकास र समृद्धिका नयाँ सम्भावनाहरु दुवै देशका लागि खुलेको भन्दै संयुक्त विज्ञप्तिमा समानता र आपसी हितका आधारमा दुवै पक्षलाई फाइदा पुग्ने गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यसैबीच चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेइजिङस्थित तियानमेन स्क्वायरमा राखिएको जनवादी गणतन्त्र चीनका अध्यक्ष माओ त्से–तुङको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे ।

यसअघि प्रधानमन्त्री ओलीले स्क्वायरमा रहेको चिनियाँ वीर सहिदको स्मारक स्तम्भमा पुष्पगुच्छा चढाएका थिए । प्रधानमन्त्री ओली तियानमेन स्क्वायर पुग्दा उनको सम्मानमा राष्ट्रिय धुन बजाइएको थियो ।