काठमाडौं- आपसमा रङ र अबिर दलेर हर्षो ल्लाससाथ मंगलबार उपत्यका तथा पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ ।
हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने पर्वलाई ‘फागु’ पनि भनिन्छ । यो वर्ष पहाडी जिल्ला तथा उपत्यकामा मंगलबार होली मनाए पनि तराईमा भने बुधबार मनाइँदै छ । वसन्तपुरमा रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर ठड्याएपछि होली पर्व सुरु भएको हो ।
चिर गाडेपछि वसन्त ऋतु आगमनलाई स्वागत गर्न फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म विभिन्न रङ र अबिर आपसमा छ्यापाछ्याप गरी होली खेल्ने परम्परा छ । होलीकै भोलिपल्टबाट ऋतुहरूका राजा वसन्तको आगमन हुने विश्वास छ ।
विशेषगरी तराईमा विशेष उल्लाससाथ मनाइने होली पछिल्लो समय नाचगान, साथीभाइमाझ आपसमा मिलेर मनाउने गरिएको छ । असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर पर्व मनाउने गरिन्छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दारको कथा, भगवान कृष्ण र नग्न अवस्थामा गोपिनीले नुहाउँदाको प्रसंग तथा कामदेव र रतीको प्रेमकथालगायतका कथन होलीसँग जोडिएका छन् ।
त्यस्तै, बन्दी बच्चाहरूलाई राक्षस ढुन्डाको पञ्जाबाट मुक्ति दिलाएको अवसरमा पनि फागु खेल्न थालिएको प्रसंग धार्मिक ग्रन्थमा पाइन्छ । संस्कृतिविद् वीणा पौडेलका अनुसार पहिले हिन्दू धर्मअन्तर्गतका अनुयायीले मनाउने भए पनि पछिल्लो समय हरेक धर्म, जाति र सम्प्रदायले मनाउने गरेका छन् ।






