काठमाडौँ- नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवम् केन्द्रीय सदस्यलाई काँग्रेस केन्द्रीय निर्वाचन समितिले आज प्रमाणपत्र प्रदान ग¥यो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा समितिका संयोजक राधेश्याम अधिकारी र समिति सदस्य गोपालप्रसाद घिमिरेले पार्टी सभापति, महामन्त्री, कोषाध्यक्ष तथा निर्वाचित केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
प्रमाणपत्र ग्रहण गरेलगत्तै पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री डा शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्नुभएको थियो ।
सभापति देउवालाई निवर्तमान कार्यवाहक सभापति रामचन्द्र पौडेलले औपचारिक रुपमा सभापतिको कार्यभार हस्तान्तरण गर्नुभएको थियो ।
यसअघि, प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले सभापति चुनिएसँगै आफूलाई जिम्मेवारी बोध भएको बताउनुभयो । पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाउने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
उहाँले पार्टी संस्थापक बिपी कोइरालादेखि पछिल्लो संविधान जारी गर्न नेतृत्वदायी भूमिका खेल्नुभएका सुशील कोइरालाको योगदानको चर्चा गर्दै उहाँहरुले देखाएको बाटोमा अघि बढ्ने विश्वास दिलाउनुभयो ।






