
काठमाडौं- झापामा विश्वकै ठूलो बुद्धको मूर्ति बन्ने भएको छ ।
मन्त्रिपरिषद् बैठकले दमक नगरपालिकामा ५४० फि अग्लो विश्वकै सबैभन्दा अग्लो बुद्धको मूर्ति स्थापना गर्नका लागि अन्य संरचनासहित दमक विराट् बुद्ध उद्यान निर्माण गर्न दमक नगरपालिकालाई सैद्धान्तिक सहमति दिने निर्णय गरिएको छ ।
बैठकले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तराईका विभिन्न जिल्लामा भएको आन्दोलनका क्रममा घाइते भएका १९ जनाको उपचार खर्च बिलबमोजिम व्यहोर्न रु ३१ लाख १७ हजार ५०० निकासा दिने निर्णय पनि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्ताव बमोजिम समृद्ध नेपालका लागि सडक, रेल र यातायात विकासको पाँचवर्षीय रणनीतिक योजनालाई स्वीकृत गरिएको छ ।
बैठकले संविधान अनुसार गठन हुने गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित तथा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाङ्कन निर्धारण गर्न पूर्वसचिव बालानन्द पौडेलका अध्यक्षतामा नौ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको छ । सो आयोगका सदस्यमा श्याम भुर्तेल, डोरमणि पौडेल, डा माधव अधिकारी, धीरज शाह, सुनिलरञ्जन सिंह, पवित्रा श्रेष्ठ सुब्बा र सदस्य सचिवमा नेपाल सरकारका सहसचिव रहनुहुने बैठक पछि नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री शेरधन राईले जानकारी दिए।






