काठमाडौंमा चल्न थाले हाइटेक बस

busकाठमाडौँ- काठमाडौँ उपत्यकामा यात्रीलाई सहज आवागमनका लागि सेवा उपलब्ध गराउने उद्देश्यले राजधानीमा मेट्रो बस सञ्चालनमा आएको छ ।

बस सञ्चालन गर्ने महानगर यातायात प्रालिले आयोजना गरेको कार्यक्रममा सुविधासम्पन्न मेट्रो बसको उद्घाटन उद्योगमन्त्री सोमप्रसाद पाण्डेले गर्नुभएको हो ।

बसको उद्घाटन गर्दै मन्त्री पाण्डेले उपत्यकामा यस्ता बसको आवश्यकता रहेको भन्दै सरकारको तर्फबाट सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

बस कहाँ आइपुग्दैछ भनेर यात्रुले बस चढ्नका लागि एप्स हेरेर बस आउने समय पत्ता लगाई बस स्टपमा जान सकिने हुँदा लामो समय खर्च गर्न नपर्ने प्रालिले बताएको छ ।

३९ वटा बसका लागि प्रालिले रु १६ करोडको लगानी गरेको पनि जानकारी गराएको छ ।

बसले चक्रपथको परिक्रमा गर्नेछ । बसमा यात्रुले निःशुल्क वाइफाइ प्रयोग गर्दै टेलिभिजन हेर्न पाउनेछन् । बस सञ्चालनमा आएपछि यात्रुलाई सहज हुनुका साथै साना यातायातको साधनबाट हुने ट्राफिक जाम पनि कम हुने प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिनुभयो ।

उपाध्यक्षका अनुसार काठमाडौँ उपत्यकामा राम्रोसँग बस सञ्चालन गर्नसकेमा उपत्यका बाहिर पनि उक्त बस सेवा विस्तार गर्न सकिने बताइएको छ ।