काठमाडौं- नेपाली कांग्रेसका कार्यबहाक सभापति रामचन्द्र पौडेलले कांग्रेसको १३औं महाधिवेशनबाट सभापतिमामा निर्वाचित वरिष्ठ नेता शेरबहादुर देउवालाई बधाइ दिएका छन् ।
सभापति पदको सोमबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता देउवा सभापतिमा निर्वाचित भएका थिए । उनले कार्यबहाक सभापति पौडेललाई पराजित गरेका थिए ।
‘पार्टीको आदर्श, सिद्धान्त र निष्ठाको राजनीतिबाट कत्ति पनि विचलित नभइ पार्टी, देश र जनताको पक्षमा तपाइँको कार्यकालको सफलताको कामना गर्दछु’–नेता पौडेलद्वारा मंगगलबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा कांग्रेसको महाधिवेशन ऐतिहासिकरुपमा सम्पन्न गर्ने गहन जिम्मेवारी र नेतृत्व आफूलाई प्राप्त भएकामा लोकतान्त्रिक पद्धतिद्वारा नेतृत्वको चयनसहित महाधिवेशन भव्य, सभ्य र निर्बिघ्नतापूर्वक सम्पन्न भइ निर्वाचन परिणाम सार्वजनिक भइरहेको उल्लेख छ ।
महाधिवेशनले नेपालमा लोकतन्त्रको विकासमा लागि महत्वपूर्ण आयाम थपेको जनाउँदै उनले महाधिवेशनमा संयमका साथ आफूलाई मतदान गर्ने देशभरि र विश्वभरिका प्रतिनिधि साथी एवं शुभेच्छुकप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् ।
विज्ञप्तिमा कार्यबहाक सभापति पौडेलले निष्ठाको राजनीतिमा अविचल रही अघि बढ्न सबैमा आह्वान गर्दै महाधिवेशन सम्पन्न गर्न सहयोग पु¥याउने सम्पूर्ण साथीहरुलाई धन्यवाद दिएका छन् ।






