निर्वाचन आयोगद्वारा समावेशी व्यवस्था बनाउन दलहरूलार्इ निर्देशन

electionकाठमाडौं- निर्वाचन आयोगले राजनीतिक दलका विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिनिधित्व गर्ने गरी समावेशी व्यवस्था बनाउन निर्देशन दिएको छ ।

मुलुकमा समानुपातिक समावेशी लोकतन्त्रलाई मुखरित गर्ने प्रमुख अवयव राजनीतिक दल नै भएको हुँदा संविधान बमोजिमको व्यवस्थालाई कार्यान्वयन गर्न आयोगमा दर्ता कायम रहेका राजनीतिक दललाई सङ्घीयता अनुरुप उक्त व्यवस्था मिलाउन आयोगले पत्राचार गर्ने निर्णय गरेको हो ।

नेपालको संविधानको प्रस्तावनामा सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा शान्तिमूलक समाज निर्माण गरिने तथा सामाजिक न्यायको हक अन्तर्गत दलका विभिन्न तहमा कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिविम्बन गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हुनुपर्ने प्रावधान छ ।

राजनीतिक दलहरुलाई समावेशी व्यवस्था गरी सोको जानकारी गराउन पत्राचार गर्ने निर्णय गरिएको प्रवक्ता वासुदेव गुरागाईंद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।