लन्डन- युरोपमा पछिल्ला केही वर्षमा देखिँदै आएको बेरोजगारी समस्यामा सन् २०१६ को जनवरीमा कमी आएको एक तथ्याङ्कले जनाएको छ ।
युरो स्टाट स्टाटिस्टक्स एजेन्सीले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क अनुसार युरोपेली युनियनमा आवद्ध १९ राष्ट्रमा बेरोजगार समस्या सन् २०११ पछि पहिलो पटक १०.३ प्रतिशतमा झरेको छ । यो सन् २०१५ को डिसेम्बरमा १०.४ थियो ।
यसअघि युरोपको बेरोजगारी समस्याका बारेमा अनुमान लगाएभन्दा विल्कुल फरक नतिजा यो वर्षको सुरुवातीसँगै देखिए पनि युरोपको अर्थतन्त्रले पहिलेको अवस्थामा आउन अझै केही समय सङ्घर्ष गर्नुपर्ने अध्ययन प्रतिवेदनमा जनाइएको छ ।
नागरिक बेरोजगार रहनुपर्ने आर्थिक सङ्कटको अवस्था विस्तारै कम हुँदै गएको भए पनि रोजगारीपछि अर्थतन्त्रमा आउने सुधारलाई महसुस गर्न भने युरोपले अझै धेरै काम गर्नुपर्नेछ ।
युरोपेली वित्तीय विश्लेषकले जनवरीमा देखिएको तथ्याङ्क अब माथि चढ्ने संभावना नरहेको बताएका छन् ।
चिनियाँ अर्थतन्त्र र विश्व वित्तीय बजारमा देखिएको परिवर्तनले युरोपमा आर्थिक सुधारको लक्षण देखिएको वित्तीय विज्ञहरुको बुझाई छ ।
श्रम बजारको तथ्याङ्कले यहाँको बेरोजगारी समस्या थप कम हुँदै जाने देखिएको तर ज्यालादार वृद्धिमा सुधारका लागि भने अझै लामो समय पर्खनुपर्ने वर्तमान प्रगती समीक्षापछि गर्न सकिन्छ, युरोपेली पूँजी अर्थशास्त्रका विशेषज्ञ ज्याक एलेनले बताउनुभयो ।






