प्रकाशमानको सभापतिमा दावी, सशांक ‘अभिमन्यु’ बन्न तयार

prakash man singhकाठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले पार्टीको १३ औं महाधिवेशनमा सभापति पदको आफ्नो पनि दाबेदारी रहेको घोषणा गरेका छन् ।

काठमाडौंका महाधिवेशन प्रतिनिधिहरुको स्वागतमा नेपाल विद्यार्थी संघ काठमाडौंले गरेको कार्यक्रममा महामन्त्री सिंहले आफू पार्टीको उपसभापति र महामन्त्री भइसकेकाले स्वभाविक रुपमा सभापतिमा दाबेदारी रहेको बताए ।

उनले देशभरका महाधिवेशन प्रतिनिधिहरुसँग अहिले आफु छलफलमै रहेको भन्दै केही दिनभित्रै उम्मेदवारीको औपचारिक घोषणा गरिने बताए । आफूले नेतृत्वको असर पाए पार्टीको ६०/४० को भागबण्डा अन्त्य गर्न सफल हुने उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस नेता डाक्टर सशांक कोइरालाले १३ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने भन्दै कांग्रेसभित्र अब पनि एकता कायम हुन नसके मुलुकमा राजनीतिक दुर्घटनाको खतरा रहेको औंल्याए ।

उनले पार्टी एकताका लागि आफु यो महाधिवेशनमा अभिमन्यु बन्न परे पनि तयार हुने जानकारी दिए । पार्टीभित्रको भागबण्डाको राजनीतिक अन्त्यका लागि आफ्र जस्तो सुकै कदम चाल्न पनि तयार हुने उनको भनाइ थियो ।

नेता कोइरालाले १३ औं महाधिवेशन चुनौतीलाई अवसरका रुपमा परिणत गर्ने बेला भएको बताए । उनले बीपी कोइराला र गणेशमान सिंहले कहिल्यै नछुट्किन राजनीति गरेको स्मरण गर्दै प्रकाशमान सिंह र आफू पनि सँगै रहेर राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे ।